भारतीय वायुसेनाको विमान दुर्घटना

नयाँ दिल्ली,फागुन १५-

भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान एक्कासी जमिनमा खसेर दुर्घटना भएको छ ।बुधबार बिहान उडिरहेको अवस्थामा सो विमान खसेको हो । मंगलबार पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाले हवाई आक्रमण गरेको थियो ।

भारतीय संचारमाध्यमका अनुसार दुर्घटना भएको विमानका दुई पाइलटको समेत मृत्यु भएको छ । भारतीय वायुसेनाको विमान यसअघि दुर्घटना हुँदा अधिकांश घटनामा पाइलट ज्यान जोगाउन सफल भएका छन् । बुधबार भएको दुर्घटनामा भने दुवै पाइलटको मृत्यु भएको बताइएको छ ।

श्रीनगर एयरबेसबाट उडेको सो विमान गस्तीका क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारण प्रष्ट हुन सकेको छैन । विमानमाथि आक्रमण भएको हुनसक्ने सम्भावनालाई भारतीय अधिकारीहरुले अस्वीकार गरेका छन् । प्राविधिक खराबीका कारण दुर्घटना भएको हुन सक्ने उनीहरुको अनुमान छ ।

प्रत्यक्षदर्शीका अनुसार विमान सोझै जमिनतिर आएर ठूलो आवाजका साथ विस्फोट भएको थियो । लगत्तै विमानमा आगो लागेको बताइएको छ । (एजेन्सी)