युएईलाई ७ विकेटले हराउँदै नेपाल २१ वर्षपछि एसिया कपमा छनोट

नेपालले एसिया कपको समूह चरणमै भारत र पाकिस्तान संग खेल्ने

काठमाडौं,बैशाख,१९-युएईलाई ७ विकेटले हराउँदै नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको छ।सन् २००२ मा फाइनलमा यूएईसँग ६ विकेटले हारेको नेपाल उपविजेताको रुपमा एसिया कपमा पुगेपनि भारत र पाकिस्तानको आन्तरिक विवादका कारण प्रतियोगिता नै रद्द भएपछि खेल्नबाट बञ्चित भएको थियो।

नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको छ।मंगलबार एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको हो।नेपालले पहिलो पटक सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो।सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो।

त्यो समय फाइनल पुग्ने दुई टोली एसिया कपमा पुग्ने ब्यवस्था थियो।उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो।नेपाल एसिया कपमा पुगेपनि प्रतियोगिता नै हुन सकेको थिएन।भारत र पाकिस्तानसँगको आन्तरिक विवादको कारण त्यो वर्ष एसिया कप नै हुन रद्द भएको थियो।

त्यसकै कारण नेपाल एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन।त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन।पछिल्लो दुई महिनामा जादुमय प्रदर्शन गरेको नेपाली टोलीको एसिया कप यात्रा पूर्व पनि निकै ठूला यात्रा तय गरेको छ।

संकटमा परेको एक दिवसीय मान्यता आगामी चार वर्षका लागि जोगाएको नेपाल एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाएको छ।एसीसी प्रिमियर कपको उपाधि जितेर एसियाका ५ टेस्ट मान्यता प्राप्त टोली सहभागी हुने एसिया कपमा छनोट हुन सफल भयो।नेपालले एसिया कपको समूह चरणमै पाकिस्तान र भारत जस्ता विश्व क्रिकेटका महाशक्तिसँग खेल्नेछ।

गत फेबु्रअरीमा मोन्टी देसाई नेपाली टोलीको प्रशिक्षक बनेर आए यता नेपाल क्रिकेटमा उछाल आएको छ।त्यति बेला नेपालले विश्वकप लिग- २ मा १२ खेल खेल्न बाँकी थियो।प्रायः सबै जितेमा मात्र नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बच्न सक्थ्यो। नेपालले १२ मध्ये ११ खेल जित्यो र विश्वकप छनोटमा पनि स्थान बनायो।नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्ला १४ मध्ये १३ खेल जितेको छ।

यस्तै त्रिवि क्रिकेट मैदानमा खेलेका पछिल्ला सबै १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेको छ।कुनै समय एसियाली एसोसिएट क्रिकेटको सबैभन्दा सशक्त मानिएको यूएईसँग नेपालले खेलेका पछिल्ला ७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये ६ वटा जितेको छ।पछिल्ला दुई महत्वपूर्ण जितमा नेपाली क्रिकेट टिमका गुल्सन झाको प्रदर्शन सम्झना लायक रहयो।

विभिन्न उपलब्धिसँगै नेपाली टोलीले पछिल्लो दुई महिनामा धेरै राष्ट्रिय कीर्तिमान बनाइसकेको छ।जसको नेतृत्व गरिरहेका मोन्टी देसाई खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छन् ।

नेपाली क्रिकेट टोलीको सफलताको पछि नेपाली क्रिकेट फ्यानको भूमिका महत्वपूर्ण रहँदै आएको छ।अनेकन् समस्या झेल्दै दर्शकदीर्घामा रहेर खेलाडीको मनोबल बढाउन भूमिका खेलेका उनीहरुको सोमबार र मंगलबार मैदानमा भोगेको सास्तीले ब्यवस्थित रंगशालाको सपना देखाउने सरकारलाई गिज्याइरहेको थियो ।