सशस्त्र प्रहरी प्रधानमन्त्री कप क्रिकेटको फाइनल प्रवेश

फाईल तस्विर !!

काठमाडौं,माघ,१४-सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै सशस्त्र फाइनलमा पुगेको हो ।

कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको सशस्त्रले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । शंकर रानाले ४४ तथा भुवन कार्कीले ४२ रन जोडेको इनिङ्समा आरिफ शेखले ३ विकेट तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।

जवाफमा प्रहरीले चार बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो । पवन सर्राफले ४० तथा रशिद खानले ३४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा अलराउण्ड प्रदर्शन गर्दै भुवन कार्कीले ४ तथा कमल ऐरी, अविनाश बोहरा र कप्तान शरद भेषावकरले समान २ विकेट लिए ।

दोस्रो सेमिफाइनल खेलमा बिहीबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । बागमती समूह बी को विजेता तथा आर्मी समूह ए को उपविजेता हो । उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छ ।