आज मगर दिवस : देश विदेशमा एकै साथ मनाईदै

काठमाण्डौं,फाल्गुन,१५-

आज मगर दिवस देश तथा विदेशमा एकै साथ धुमधामका साथ मनाईदै छ । फागुन १५ गतेलाई आदिबासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, सांस्कृतिक, साङ्गठनिक तथा राजनितिक चाडको रुपमा मनाउने गर्दछन् । विश्व भरिका सम्पुर्ण मगरहरुको ऐक्यबद्धतालाई संस्थागत स्वरुप प्रदान गर्न र सम्पुर्ण मगरहरुको हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न वि.सं. २०३९ साल फागुन १५ गते नेपाल मगर संघको स्थापना भएको थियो । सोहि दिनबाट मगर दिवस मनाउन थालीएको हो ।

अजको दिन आफ्नो भेषभूषामा सजिएका मगर पुस्ताका बालबालिकादेखि बृद्धबृद्धाले सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोकगीतमा छमछमी नाच्दै मगर दिवस मनाउने गर्दछन् ।  

हरेक बर्ष विश्व भरी छरिएका मगरहरुले अत्यन्त हर्ष, उल्लास, उमङ्ग र जोशका साथ मगर दिवस धुमधामले मनाउने चलन छ । मगर समाजमा परम्परा देखि तीन वटा भाषा बोल्ने प्रचलनमा रहेको पाइन्छ । काइके, खाम तथा मगर ढुट भाषा मगर जनजातिको मुख्य भाषा रहेको छ । 

तर पछिल्लो विगत १० बर्ष भित्रमा मात्तृ भाषा बोल्ने मगरहरुको संख्या घट्न गएको छ । सम्भवत मगर भाषाको अध्ययन तथा अध्यापनको सुविधा तथा समुचित व्यवस्था राज्यबाट प्रभावकारी रुपमा मिलाएको देखिएन । शहरीकरण तथा बसाई सराई र मगर विद्यार्थीहरुमा मात्तृभाषा प्रति अभिरुचि घट्न गएको आदि कारणहरुले गर्दा मगर भाषा बोल्नेहरुको संख्या घट्न गएको छ ।

कुनै पनि जातिको पहिचानको लागि मात्तृभाषा एउटा मुख्य आधार हुन्छ । यसै सन्दर्भमा नेपाल मगर संघ तथा सम्बन्धित संघ संस्थाहरुले मगर भाषाको लोकप्रियता बढाउन बिशेष निति निर्माण गरी आवश्यक पाइला चाल्नु पर्दछ ।

यस्तै : परम्परा देखि मगर जनजातिको आर्थिक श्रोत र साधनहरुमा मुख्यत कृषि खेति पाति, पशुपालन, सानातिना व्यापार, घरेलु उद्योग, बन जङ्गल, जडीबुटि सङ्कलन गरि विक्री गर्दै आईरहेको पाईन्छ ।फागुन १५ गते मगर दिवसको शुभ अवसरमा मगर र मगर संघ संस्थाहरुले उपरोक्त विषयहरुमा समसामयिक मनन गर्नु पर्ने कुराहरुमा मनन गरुन् । 

साथै मगर दिवशको अवसरमा सारा संसारभरी यत्र तत्र छरिएर बसेका मगर समुदायहरुमा बिहानी अनलाईन परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।