नेपाल सुपर लिगको मिति तय

काठमाडौं,असार,२-दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुने भएको छ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार नयाँ संस्करणको एनएसएलको मिति घोषणा गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि आयोजकले दोस्रो संस्करणको एनएसएल आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुने तय गरेको हो।

एन्फाले एनएसएल आयोजना गर्न आयोजकसँग गत पुसमा आठ वर्षको सम्झौता गरेको थियो।प्रतियोगितामा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्।यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्‍याइएको हो।

दोस्रो संस्करणमा विराटनगर सिटी एफसी, वीरगञ्ज युनाइटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुने छ।पहिलो सिजनको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको थियो ।