आइडियलले यूनाइटेडलाई ११0 रनले हरायो

 

नेपालगन्ज , माघ,२८-
बांके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपालगन्जमा जारी दोस्रो मेयर कप टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा आईडियल पब्लिक मा.विले युनाईटेड एकेडेमि माथि ११० रनले जित निकालेको छ ।

प्रतियोगितामा यो जित संगै आईडियल पब्लिक मा.वि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको आईडियल पब्लिकको राम्रो सुरुवात नरहे पनि पछिल्ला क्रमका ब्याट्स म्यानले राम्रो प्रदर्शन गर्दै १८७ रन बनाएको थियो ।

प्रतियोगिताको दोस्रो उच्च स्कोर बनाउनका लागि आईडियल पब्लिकका कप्तान २० बल खेल्दै ४६ रन बनाएका थिए भने सैफ अलि सेखले ३८ तथा विकास साहुले ३७ रन बनाएका थिए । त्यस्तै फरदिन खानले २८ रन बनाएका थिए । त्यस्तै युनाईटेड एकेडेमीका लागि समिर रानाले २ विकेट लिएका थिए । १८८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको युनाईटेड एकेडेमी १४.५ ओभरमा अल आउट हुदै ७७ रनमा समेटिएको थियो ।

युनाईटेड एकेडेमीका लागि समिर रानाले १७ तथा प्रेम सुनारले १३ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् । आईडियल पब्लिक मा.विका लागि उत्कृष्ट बलिंग गर्दै मकबुल राई तथा समिर शाहले समान ४,४ विकेट लिएका थिए । त्यस्तै दानिष खानको नाममा २ विकेट रहयो ।

आईडियल पब्लिकका लागि ४ विकेट लिएका समिर शाह म्यान अफ द म्याच घोषित भए । नेपाल क्रिकेट संघका उपाध्यक्ष संजय राज सिंहले म्यान अफ द म्याच ट्रफि प्रदान गर्नु भएको थियो ।

त्यस्तै प्रतियोगितामा बाई पाएको होली ल्याण्ड मा.वि र होप ईन्टरनेसनल मा.वि बीच खेल हुने प्रतियोगिताका संयोजक मेराज अन्सारीले बताए । प्रतियोगिताको विजेताले एकाउन्न हजार प्राप्त गर्ने छन् भने उप विजेताले पच्चीस हजार प्राप्त गर्ने छन् ।