नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिला नियुक्त

फाईल तस्विर !!

काठमाडौं,फाल्गुन,२६-नेपाल राष्ट्र बैंकको पहिलो पटक डेपुटी गभर्नरमा महिला नियुक्त भएकी छन्। मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले निलम ढुंगाना र बम बहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो।

राष्ट्र बैंकका निवर्तमान डेपुटी गर्भनरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गतेदेखि सकिएपछि पद रिक्त थियो। करिब एक सातासम्म रिक्त रहेको डेपुटी गभर्नरहरुमा मंगलबारको मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो।

मन्त्रिपरिषदले गभर्नर महाप्रसाद अधिकारीले सिफारिस गरेका कार्यकारी निर्देशक मध्येबाट दुई जनालाई डेपुटी गभर्नर नियुक्त गरिएको हो। गभर्नर अधिकारीले २ पदका लागि ४ जनाको नाम सिफारिस गरेका थिए।

केही दिनअघि गभर्नर अधिकारीले सिफारिस गरेको सूचीबाट अर्थमन्त्रीको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषदले नियुक्त गरेको हो।