दुई नम्बर प्रदेशमा असोज २ गते निर्वाचन गर्ने सरकारको निर्णय

राजपा पनि निर्वाचनमा सहभागी हुने

काठमाण्डाैं,असार, १-

सरकारले दुई नम्बर प्रदेशमा आगामी असोज २ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालसँगको छलफलपछि सत्तारुढ दलले दुई नम्बर प्रदेशमा निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका थिए ।

निर्वाचन आयोग पदाधिकारीसँग अपरान्ह छलफल गरे लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज २ गते सोमवार निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकपछि उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सरकारले तेस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरे लगत्तै राजपा समेत सहभागी हुने बिश्वास ब्यक्त गर्नुभयो ।

सरकारले प्रदेश नम्बर १, ५ र ७ नम्बर प्रदेशमा आगामी असार १४ गतेका लागि तोकिएको निर्वाचनको मनोनयन दर्ता गर्ने दिन समेत दुई दिन पछि सारेको छ ।

मन्त्रिपरिषद् बैठकले असार १४ गतेका लागि तोकेको निर्वाचनमा राजपा नेपाललाई समेत मनोनयन प्रक्रिया सहज बनाउन दर्ताको दिन दुई दिन पछि सारेको मन्त्री श्रेष्ठले बताउनुभयो ।