चिनबाट आइपुग्यो ८ लाख मात्रा ‘भेरोसेल’ खोप

फाईल तस्विर !!

काठमाडौं,असार,२५-कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ ।

चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत शुक्रवार बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीवार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सरकारले खरीद गरेको खोप शुक्रवार बिहान आइपुगेको जानकारी दिनुभयो।उहाँले पहिलो चरणमा शुक्रवार आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिनुभयो।

सरकार र खोप कम्पनीबीच नन डिस्क्लोजर सम्झौताअनुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन ।  

अब आगामी साउन ८ गतेसम्म तीन उडानमार्फत नियमितरुपमा खोप आउन थालेको हो । यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते र साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । उहाँले अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिरहेको जानकारी दिनुभयो। 

मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशभरि नै पठाउने तयारी गरेको छ । 

खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । कुल जनसंख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ । 

नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८६८ लाई दोस्रो मात्राको खोप लगाइसकिएको छ । रासस