थ्री नेसन्स कप:आज नेपाल र बंगलादेश बिच फाईनल खेल

फाइनल हेर्न प्रधानमन्त्री ओली जाने

फाईल तस्विर !!

काठमाडौं,चैत्र,१६-थ्री नेसन्स कपको फाइनल खेल आज नेपाल र बंगलादेश बिच हुँदैछ।थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताउनु भएको छ।

थ्री नेसन्स कपको फाइनल अघि आइतबार भएको प्रि-म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताउनु भएको थियो ।

‘हामीले दुई खेल खेल्यौं ।  प्रदर्शन राम्रै गरेका छन् । सोचेअनुसार खेलेका छौँ । तर, गोल गरिरहेका छैनौँ,’ महर्जनले भन्नुभयो, ‘हाम्रो भोलिको मुख्य लक्ष्य भनेकै गोल गर्दै नतिजा निकाल्नु हुनेछ ।’

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको थियो ।यस्तै नेपालले पछिल्लो ७ अन्तराष्ट्रिय खेलमा गोल गर्न सकेको छैन ।

यस्तै महर्जनले फाइनलमा टिममा केहि परिवर्तन हुने समेत बताउनुभयो ।’भोलिको खेलमा सुरुवाती-११ मा केही परिवर्तन हुन सक्छ । त्यसका लागि हेर्दैछु,’ उहाँले भन्नुभयो ।नेपालले अघिल्ला दुई खेलमा सुरुवाती-११ परिवर्तन गरेको थिएन् ।

नेपाली टिमका कप्तान किरण चेम्जोङले उपाधि दिलाउन आफु उत्सुक रहेको बताउनुभयो।’सबै कप्तानलाई आफ्नो कप्तानीमा उपाधि जित्दा सुखी लाग्छ । आफ्नो कप्तानीमा उपाधि दिलाउन म पनि उत्सुक छु,’ उहाँले भन्नुभयो !

बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउनुभएको थियो ।’यस खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । घरेलु टोलिलाई दर्शकको समर्थन छ । हामी फाइनलमा पुग्यो यो नै ठुलो विषय हो,’ उहाँले भन्नुभयो।

बंगलादेशका कप्तान जमल भुयाले सोमबार उपाधि जित्नका लागि सुनौलो मौका रहेको बताउनुभयो।’हामीलाई उपाधि जित्न यो सुन्दर अवसर हो । हामीसँग राम्रा खेलाडी छन् । अनुभवी खेलाडी पनि छन्,’ उहाँले भन्नुभयो।

यसैबिच:दशरथ रंगशालामा नेपाल र बंगलादेशका फुटबल टोलीबीच यसअघि दुई पटक फाइनल खेल भएको थियो । दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करण (सन् १९८४) र आठौं सस्करण (१९९९) को फुटबल फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । पहिलोमा नेपाल ४–२ ले र आठौंमा बंगलादेश १–० ले विजयी भएको थियो ।

त्यसैगरी :थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली प्रमुख अतिथीको रुपमा उपस्थित हुनुहुनेछ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फाइनलमा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरेको छ ।

एन्फाका अनुसार प्रधानमन्त्री ओली सोमबार हुने फाइनल खेलमा प्रमुख अतिथीको रुपमा दशरथ रंगशालामा उपस्थित हुनुहुनेछ।