किर्गिस्तान यू-२३ टिमसँग त्रिभुवन आर्मी क्लबको बराबरी

फाईल तस्विर !!

काठमाडौं,चैत,१५-एएफसी कप-२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू-२३ टिमसँग बराबरी खेलेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेलमा गोल निस्कन सकेन ।किर्गिस्तानविरुद्ध बल पोसेसनमा आर्मीले पकड जमाएको थियो । तर, आर्मी गोल गर्न असफल रह्यो ।

खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर प्रियादकिन आर्तिमले उत्कृष्ट बचाऊ गरे ।खेलको २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो ।

४७ औं मिनेटमा विवेक बस्नेतले करिब १८ यार्डबाट गोल गर्न सकेनन् । अनमार्क रहेका उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।खेलको ७३ औं मिनेटमा पेनाल्टी भित्रबाट नवयुग श्रेष्ठको कडा प्रहार किर्गिस्तानका परिवर्तित गोलकिपर टोकोतेभले बचाए ।८५ औं मिनेटमा किर्गिस्तानले गोलको अवसर पाएको थियो । तर, अभिलोभले किपर अघि बढेको अवस्थामा गोल गर्न सकेनन् ।

आर्मीको प्रतिद्वन्दी को ?

आर्मीले एएफसी कपको प्ले अफमा श्रीलंका पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।आर्मीले एएफसी कप-२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ ।

आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ ।पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।यस प्ले अफको विजेताले समूह चरणको समूह ‘डी’ स्थान बनाउने छन् ।

समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।