कोपा अमेरिका फुटबलको फाइनलमा आज ब्राजिल र अर्जेन्टिना भिड्ने

फाईल तस्विर !!

एजेन्सी,असार,२७-ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनल खेल आज (आइतबार) बिहान हुँदैछ ।उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने छन् । फाइनल खेल नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु हुनेछ ।

माराकाना स्टेडियम मैदान उत्रदा दुबै टिम उपाधि उचाल्ने योजनामा हुने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

ब्राजिल पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । फाइनलमा ब्राजिल अर्जेन्टिनालाई हराएर च्याम्पियन बन्न चाहन्छ ।

नेयमार, रिचार्लिसन, कासिमिरो,फ्रेड जस्ता खेलाडीको साथ पाएको ब्राजिल १० औं पटक कोपा जित्न चाहन्छ । ब्राजिलले यस अघि ९ पटक उपाधि जितिसकेको छ । साविक विजेता समेत रहेको ब्राजिल उपाधि घरमै राख्ने योजनामा छ ।

तर लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई हराउन ब्राजिललाई सहज हुने छैन । अर्जेन्टिना पनि घरेलु टोलीलाई स्तब्ध बनाएर उपाधि जित्न चाहन्छ । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।

अर्जेन्टिना कोपामा १४ पटकको च्याम्पियन हो । तर, अर्जेन्टिनाले उपाधि जित्न नसकेको लामो समय भईसकेको छ  । मेस्सीलाई पनि पहिलो पटक अर्जेन्टिनालाई उपाधि दिलाउने अवसर रहेको छ । मेस्सीले अहिलेसम्म अर्जेन्टिनाबाट ठुलो उपाधि जित्न सकेका छैनन् ।

दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र ब्राजिल र अर्जेन्टिनाबीच हालसम्म १ सय ११ पटक प्रतिस्पर्धा भएको छ । जसमा ब्राजिल बलियो देखिएको छ ।

अर्जेन्टिनाविरुद्ध ब्राजिलले ४६ खेल जितेको छ ।  अर्जेन्टिनाले ४० खेलमा जित दर्ता गरेको छ । बाँकी २५ खेल बराबरीमा सकिएको छ ।

अन्तिम पटक दुई टिम सन् २०१९ को नोभेम्बरमा मैत्रीपूर्ण फुटबलमा भिडेका थिए । जहाँ मेस्सीको गोलमा अर्जेन्टिनाले जित निकालेको थियो ।