दिल्लीको तेस्रो जित : रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी

काठमाण्डौं,चैत्र,२५-

इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी छ । आइतबार घरेलु मैदानमा बैंगलोरले दिल्लीसँग ४ विकेटले पराजित हुँदै जारी सिजनमा लगातार छैठौं पराजय व्यहोरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा बैंगलोरलाई १४९ रनमा समेटेको थियो । बैंगलोरले उक्त योगफल तयार पार्ने क्रममा ८ विकेट गुमाएको थियो । १५० रनको लक्ष्य पाएको दिल्लीले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा १५२ रन बनाएर जित हासिल गरेको हो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै मोइन अलीले ३२, आकाशदीप नाथले १९ र एबी डेभिलियर्सले १७ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । उनले ४ ओभरमा २१ रन दिएर चार विकेट हात पारेका हुन् । त्यस्तै क्रिस मोरिसले २ र सदीप लामिछाने र अक्षर पटेलले एक–एक विकेट लिए ।

दिल्ली क्यापिटल्सका लागि कप्तान श्रेयस ऐय्यरले सर्वाधिक ६७ रन बनाए । त्यस्तै, पृथ्वी शाले २८, कोलिन इन्ग्रामले २२ रन बनाए ।

बलिङतर्फ बैंगलोरका नवदीप साइनीले दुई, टिम साउथी, पवन नेगी, मोहम्मद सिराज र मोइन अलीले एक–एक विकेट लिए ।ईमेजखबरबाट