आज हरितालीका तिज : देशभर भव्य रुपमा मनाईदै

बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड

काठमाण्डौं,भदौ,२७-

आज हरितालीका तिज ! नेपाली हिन्दुनारीहरुले आज हरितालीका तिज परम्परागत रुपमा देश तथा विदेशशमा एकै साथ  भव्य रुपमा मनाउदैछन् ।

हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा छ ।भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ ।हरितालिका तीजको दिन आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लागेको छ ।तीजका लागि सरकारले आज सार्वजनिक विदा दिएको छ ।

यसैविच: बिहानी अनलाईनका प्रधान सम्पादक दिपेन्द्र सारु मगरले बुधबार दिएको तिजको शुभकामना सन्देशमा मुलुकमा राजनीतिक परिवर्तनसँगै महिलाका हक अधिकारलाई संविधानले प्रत्याभूत गरेकोले अब जगैदेखि महिला नेतृत्वलाई स्थापित गर्नु पर्ने उल्लेख गर्दै सम्पुर्ण हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा सारा संसार भरी छरिएर रहेका सम्पूर्ण नेपाली चेलिहरुको सु-स्वास्थ्य, एवंम दिर्घायूको उतरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।