‘तत्काल देशभर ‘लकडाउन’ हुँदैन’ मन्त्री : खतिवडा

फाईल तस्विर : अर्थ मन्त्री डा.युवराज खतिवडा

काठमाडौं,साउन,२२-अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पार्नुभएको छ ।सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. खतिवडाले बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताउनुभएको हो ।

उहाँले त्रसित भएर पूर्णरुपमा यसअघिजस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैलेपनि नबनाउन आग्रह गर्नुभयो ।मन्त्री डा. खतिवडाले अहिलेपनि दुई दर्जनभन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताउनुभयो ।

उहाँले कोरोना संक्रमणको जोखिम कम गर्न कडाइ गर्ने र आर्थिक गतिविधि सञ्चालन गर्न खुकुलो गर्नेगरी बीचको बाटो अपनाउने बताउनुभयो ।यद्यपि, संक्रमणको जोखिम हेरेर ठाउँ–ठाउँहरूमा भने लकडाउन गर्न सकिने उहाँको भनाइ छ ।

मन्त्री डा. खतिवडाले सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने÷नगर्ने विषयमा उदार भएर निर्णय गर्ने स्थिति नरहेकोसमेत बताउनुभयो ।अहिलेको स्थिति रहिरहेमा उदार बनेर सार्वजनिक यातायात खोल्ने, विद्यालय सञ्चालन गर्ने र उडान गरिहाल्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।

यस्तै, विदेशमा अलपत्र परेका व्यक्तिलाईमात्रै उद्धार गर्नेगरी हवाई उडानको व्यवस्था गरिने पनि उहाँले बताउनुभयो ।काठमाडौं उपत्यकाभित्रको बढ्दो संक्रमण जोखिम र त्योपनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखम भएको हुनाले केही कदमहरु चाल्न सुरु गरिएको उहाँले बताउनुभयो ।

जनजीवनमा अप्ठेरो परेपनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह गर्नुभयो ।‘क्वारेन्टिन’हरु खाली हुँदै जाने र ‘आइसोलेसन’का बेडहरु बढ्दै जाने स्थिति भएकाले सोहीअनुसारको व्यवस्था गर्नुपर्ने आवश्यकताअनुसार काम भइरहेको उहाँको भनाइ थियो ।