टी-ट्वान्टी विश्वकप छनोट : नेपालले आज युएईको सामना गर्ने

नेपालले युएईलाई हराए विश्वकपका लागि छनोट हुनेछ

काठमाडौं,फागुन,१०-आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा आज मंगलबार नेपालले युएईको सामाना गर्दैछ। 

आफ्ना तीनै खेलमा जित निकालेसँगै नेपाल ग्लोबल छनोट ‘ए’ को समूह बीको विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको हो । अस्ट्रेलिया हुने विश्वकपमा स्थान बनाउनका लागि अब नेपालले समूह ‘ए’को उपविजेता युएईलाई पराजित गर्नुपर्ने हुन्छ ।

सोमबार भएको छनोट अन्तर्गतको तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। क्यानडाले दिएको ८१ रनको लक्ष्य दुई विकेट गुमाएर १४ ओभर १ बलमा पूरा गर्दै नेपालले ८ विकेटको जित निकालेको थियो।

 

नेपालका लागि कुशल भुर्तेलले ३४, दिपेन्द्र सिंह ऐरीले २७, आशिफ शेखले १७ रन बनाउँदा कुशल मल्ल पहिलो बलमै पेभेलियन फर्किए । भुर्तेल र ऐरी अविजित रहे ।

यसैबिच क्यानडाका कलिम साना र सलमान नजरले एक–एक विकेट लिए ।

त्यसअघि ओमानको राजधानी मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले १४ ओभरको अन्तिम बलमा अलआउट हुँदै ८० रन बनाएको थियो।

उसका लागि कप्तान नवनित ढलिवालले १८, रायन पठानले १४ रन बनाए । लमान नजारले १० तथा डिलोन हेलिगरले अविजित २४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, कमल ऐरी र अभिनास बोहोराले समान दुई विकेट लिँदा कुशल मल्ल एक विकेट हात पारे ।

नेपालले यसअघि भएका आफ्ना दुवै खेलमा जित निकालेको छ । शनिबार फिलिपिन्सलाई १ सय ३९ रनले पराजित गरेको नेपालले शुक्रबार ३९ रनले आयोजनक ओमानलाई हराएको थियो ।