घाँस काट्न वनमा जाँदा लडेर घाइते भएकी कुँवर मृत्यु

जुम्ला,पुस ४-घाँस काट्न वनमा जाँदा लडेर घाइते भएकी ताम्ती–१ सर्मीकी कुशम कुँवरको उपचार गर्दै गर्दा ज्यान गएको छ । उहाँ गर्भवती हुनुहुन्थ्यो । गएको शनिबार घाँस काट्न वनमा गएको बेला पुलेखोला भिरबाट लडेर घाइते भएकी कुँवरको उपचारको क्रममा आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ज्यान गएको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनु भयो । उहाँको टाउकोमा चोट लागेको थियो ।

कुँवरलाई शनिबार नै उपचारको लागि अस्पताल लगिए पनि स्वास्थ्यमा सुधार हुन सकेको थिएन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कुँवरको उपचार जुम्लामा हुन नसक्ने भन्दै बाहिर रेफर गरिसकेको थियो । काठमाडौं लैजान आर्थिक अभावका कारण परिवारले जुम्ला अस्पतालमै राखेपछि उनको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँका पति गोरख कुँवरको पनि भिरबाट लडेर नै ६ महिना अघि ज्यान गएको थियो ।