बाँकेमा कृषि तथा वनसम्बन्धि उद्योग दर्ता हुने क्रम बढ्दो

बाँके,पुस ४-बाँकेमा कृषि तथा वनसम्बन्धि उद्योग दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७२–०७३ मा मात्र बाँकेमा ४ सय ८ वटा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता भएका छन् । साना किसानले समेत उद्योग दर्ता गरेर ब्यवसाय सञ्चालन गर्न थालेपछि कृषि तथा वन सम्बन्धि उद्योग दर्ता गराउनेको संख्या बढेको हो । कृषि ब्यवसाय बढाउन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले प्रस्तावना आह्वान गरेका कारण पनि साना एवम् मझौला कृषकले उद्योग दर्ता गर्न थालेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत कमल प्रसाद घिमिरेले जानकारी दिनुभयो । आव २०७२–०७३ मा दर्ता भएको कृषि तथा वन सम्बन्धि उद्योग अघिल्ला आवको तुलनामा दोब्बर भएको घिमिरेले बताउनुभयो । उनले प्रस्तावना दर्ताका लागि दर्ता भएका उद्योग नविकरण हुनेमा शंका ब्यक्त गनुभयो ।

उद्यमीलाई एक लाख बराबरको उपकरण प्रदान गरिने घरेलु तथा साना उद्योग कार्यालयले बाँकेका उत्कृष्ट २५ जना उद्यमीलाई मेसिनरी सामान, उपकरण र औजार खरिदका लागि एक(एकलाख रुपैयाँ प्रदान गर्ने भएको छ । तर, एक लाख रुपैयाँ प्राप्त गर्ने उद्यमीले उपकरण खरिदमा लाग्ने रकमको २० प्रतिशत रुपैयामा आफूले ब्यहोर्नु पर्ने छ । उद्यमीले माग गरेको सामान टेण्डरमार्फत खरिद गरिने प्रमुख उद्योग अधिकृत घिमिरेले जनाएका छन् । आर्थीक वर्ष २०७२ र ०७३ मा पनि उक्त कार्यालयले २५ बढि उद्यमीलाई उद्योग संचालनका लागि फर्निचर, मेसिन, उपकरण लगायतका सामग्री प्रदान गरेको थियो । अघिल्लो आवमा एकजनालाई १५ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।