चामल ढुवानी सदरमुकाममा थन्किँदा कालीकोटका जनतालाई समस्या

कालीकोट,पुस ४-कालीकोट जिल्लामा गत वर्ष खडेरीका कारण बालीनाली नष्ट भएपछि जनतालाई खाद्यान्न सङ्कट पर्ने भन्दै दिएको चामल ढुवानी अभावमा सदरमुकाममा थन्किँदा स्थानीयवासीलाई समस्या भएको छ । सदरमुकाममा चामल छ गाउँमा भोकमरी भएको ढुवानी अनुदानमा चामल आउँछ भनेर जनतालाई काम गरेको कार्यसम्पन्न भइसक्दा पनि चामल नपाएपछि स्थानीयवासी आश्चर्यचकित परेका छन् । सदरमुकामभन्दा ग्रामीण क्षेत्रका खाद्य डिपोका लागि आएको चामल जिल्ला खाद्य संस्थान मान्मको गोदाममा राखिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले खडेरीग्रस्त क्षेत्रका स्थानीयवासीलाई खाद्यान्न सङ्कट पर्ने भन्दै चामल माग गरेको थियो ।

गेला गाविसका प्राविधिक अक्कलबहादुर शाहीले गाविसमा नौ वडामा बाटो, खानेपानी मर्मतलगायतका काम गरेर जिविसमा कार्य सम्पन्न भएको विवरण पेस गर्दा पनि चामल नपाएको बताउनु भएको छ । कहिले जिविस त कहिले खाद्य संस्थानलाई भनेर आलटाल गर्ने गरेको शाहीले आशङ्का गरेका छन् । सरकारले ढुवानी अनुदान पठाउनेबित्तिकै आफूहरुले जुविथाको खल्लागाड डिपोमा एक हजार ५०० क्विन्टल, अति खडेरी पर्ने पलांताको थिर्पु खाद्य डिपोमा दुई हजार क्विन्टल र पादमघाट खाद्य डिपोमा एक हजार ५०० क्विन्टल चामल गरी पाँच हजार क्विन्टल चामल सदरमुकामको मुख्य डिपोमा रहेको ढुवानीको जिम्मा लिएका ठेकेदार निलो तिरुवाले बताउनुभयो ।