आज हरितालिका तीज पर्व मनाईदै

काठमाडौं,भाद्र,१४-नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज पर्व आज मनाइँदैछ। प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी महादेवको पूजा आराधना गरी देश बिदेशमा यो पर्व नेपाली हिन्दु नारिहरुले एकै साथ मनाइँदैछन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका कारण यो पर्व मनाइने परम्परा रही आएको छ ।

गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको आएको छ। भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न गरिन्छ ।भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो ।

तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्।यस दिन महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ।

हरितालीका तीजको अवसरमा सारा संसारभरी यत्र तत्र छरिएर बस्नु भएका सम्पुर्ण हिन्दु नारिहरुमा तीजको धेरै धेरै शुभकामना !! साथै सबैजना महिला दिदि बहिनीहरुको ईच्छा आकंक्षा पुरा होस्, यो पर्वले सदैव सदभाव र एक आपसमा मेल मिलाप ल्याओस तथा आजको दिन वर्त बस्दा आफ्नो स्वास्थ्यको पनि उत्तीकै ख्याल राख्नुहोला भन्दै हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्दछौ ।