नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, १३ हजार ५३ जना निको

काठमाडौं,साउन,१०-नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो ।

पछिल्लोपटक बाराको परवानीपुर गाउँपालिका–८ की १७ वर्षीया एक किशोरीको मृत्यु भएसँगै मृतकको संख्या ४५ पुगेको उहाँले बताउनुभयो ।ती किशोरीको वीरगन्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

मृतक किशोरीमा कोरोना ‘पोजिटिभ’सँगै पखाला, श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

संक्रमितको संख्या १८ हजार ४८३
नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो । पछिल्लो २४ घन्टामा १०९ जना संक्रमित थपिएको उहाँले जानकारी दिनुभयो ।

१३ हजार ५३ जना निको
देशका विभिन्न अस्पतालबाट पछिल्लो २४ घन्टामा थप १०६ जना संक्रमित निको भएर घर फर्केका छन् ।यो सँगै अहिलेसम्म १३ हजार ५३ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार १८३ जना ‘क्वारेन्टिन’मा रहेका छन् । पाँच हजार ३८५ जना ‘आइसोलेसन’मा रहेका जनाइएको छ ।