प्रदेश र प्रतिनिधिसभाका लागी छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय

काठमाडौं, कात्तिक १२-

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने भएको छ । सर्वोच्च अदालतले गत बुधबार छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा के कस्तो प्रगति भएको भन्दै विवरण मागेपछि आयोग सर्वोच्चको आदेशअनुसार अघि बढ्ने निर्णयमा पुगेको हो ।

यसअघि आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्न सुरु गरेको थियो । निर्वाचन आयोगका पदाधिकारीहरुको आइतबार बसेको वैठकले सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलग/अलग मतपत्र छाप्ने निर्णय गरेको हो ।

आयोगले सोही बमोजिमको जवाफ सर्वोच्चलाई पनि दिने जनाएको छ । तर, चुनावको मिति भने हेरफेर नहुने आयोगले स्पष्ट पारेको छ । प्रत्यक्षतर्फ दुईओटा मतपत्र छाप्दा गर्नुपर्ने तयारी सुरु भएको पनि आयोगले जनाएको छ ।

अब मतदाताले तीन ओटा मतपत्रमा छाप लगाउनु पर्ने छ । प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकका लागि छुट्टाछुट्टै मतपत्रमा छाप लगाउनु पर्नेछ ।