आज देशभर क्रिसमस मनाइँदै,आज सार्वजनिक बिदा

काठमाडौं, पुस १०-  इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन आज क्रिसमस मनाइरहेका छन् । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।

आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफै क्रसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिनुभयो ।

merry-christmas-and-happy-new-year-2017‘अहिले नेपालमा आठ हजार ५०० गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन्, विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस अहिले सार्वजनिक स्थलमा पनि मनाइन्छ’ उहाँले भन्नुभयो ।क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ । ‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदैआएको छ । क्रिसमसको अवसर पारेर महासङ्घले आइतबार दिउँसो राष्ट्रिय नाचघरमा महोत्सव कार्यक्रम राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका उपलक्ष्यमा नेपालीबिच बान्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।उहाँले दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री दाहालले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण ख्रीष्टियन समुदायबाट संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।उज्यालोबाट