विश्वकप छनोट : नेपालले आज ताइपेविरुद्ध खेल्ने

खेल नेपाली समय अनुसार ४:५५ मा सुरु हुने

काठमाण्डौं,भाद्र,२३-

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज (मंगलबार) चाइनिज ताइपेविरुद्ध खेल्दैछ ।समुह चरणको दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा सहज मानिएको प्रतिद्वन्दी ताईपेसंग खेल्न लागेको हो ।पहिलो खेलमा कुवेतसंग ७–० को लज्जास्पद पराजय भोगेको नेपाललाई लयमा आउन ताइपेविरुद्वको खेल महत्वपुर्ण छ ।

नेपाल कम्तिमा सोही नतिजा दोहर्याउने लक्ष्यमा हुनेछ ।नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले समेत प्रष्ट रुपमा गत जेठमा गरेको प्रर्दशनलाई निरन्तरता दिने योजनामा आफुहरु रहेको बताउनु भएको छ । 

‘गत जुनको प्रर्दशन दोहर्याउन आतुर छौ ।’ उनले थपे, ‘सबैभन्दा महत्वपुर्ण कुरा भनेको हामी फुटबल खेल्न आएका हौ । उत्कृष्ट फुटबल पस्किने छौ ।’ हुन त फिफा वरियतामा नेपाल भन्दा ताईपे माथि छ । चाईनिज ताईपे वरियताको १ सय २५ औ स्थानमा छ । नेपाल १ सय ६६ औ स्थानमा छ ।

तर ताइपेको मैदानमा अंक जोड्ने लक्ष्य नेपालले लिएको छ ।नेपालले गत जेठमा भएको मैत्रीपूर्ण खेलमा ताईपेसग १–१ गोलको बराबरी खेलेको थियो । नेपाल र घरेलु टिम ताइपेबीचको खेल ताइपे स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार ४:५५ मा सुरु हुनेछ ।

ताइपेईविरुद्ध हुने खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङ आत्मविश्वासी देखिए । पत्रकार सम्मेलनमा बोल्दै चेम्जाङले भने, “हामी चाइनिज विरुद्ध खेल्न तयार छौं । हामीले हिंजो हलुका अभ्यास गरेका थियौं । आज हामी खेल स्थल मै अभ्यास गर्नेछौं । हामी यो खेलका लागि पूर्ण रुपमा तयार छौं । “

स्मरण रहोस, ताइपेईले आफ्नो पहिलो खेलमा अर्को बलियो जोर्डनसँग २–१ को सम्मानजनक हार बेहोरेको थियो । नेपाललाई ताइपेई विरुद्ध जित हात पार्न केही कठिन भए तापनि असम्भव भने नरहेको धेरैको बुझाई छ ।

विश्वकप छनौटतर्फ समूह बी मा परेको नेपालले कुवेत, बलियो अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई विरुद्ध होम एण्ड अवे म्याच खेल्ने कार्यक्रम छ ।