नेपाल फाइनलमा प्रवेश:उपाधिका लागि उज्बेकिस्तानसँग भिड्ने

फाईनल खेल बिहिबार हुने

काठमाण्डौं,भाद्र,२४-किर्गीस्तानमा जारी चार देशीय नडेज्दा कप महिला फुटबल च्याम्पियनसिपतर्फ नेपाल फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै फाइनल स्थान पक्का गरेको हो ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गरेकी हुन् ।

सावित्राले खेलको ८५ औं मिनेटमा गोल गरेकी हुन् । गिता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गरेकी थिइन् । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ । 

अब नेपालले फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको लिग खेलमा नेपाललाई उज्वेकिस्तानले २-० ले हराएको थियो । 

आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानमाथि ८–२ को शानदार जित निकालेको नेपालले बिहीबार उपाधिका लागि फेरि उज्वेकिस्तानसँग फाइनल खेल्नेछ ।

घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा नेपालले यस प्रतियोगिता खेलेको हो । १३ औं साग मंसिर १५ बाट २४ सम्म हुनेछ ।