आज साउने सङ्क्रान्ति पर्व, देशभर लुतो फालेर मनाईदै

काठमाडौं,साउन,१-आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन !!  

लुतो फाल्ने पर्व साउने सङ्क्रान्ति आज आईतवार देशभर मनाइँदैछ ।सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।

कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने प्रचलन छ।

असारे हिलोबाट आउनसक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो चाड मनाइँदै आएको धार्मिक विश्वास छ।

आज विभिन्न फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिको रूपमा प्रयोगहुने वनस्पतिसमेत बाली आ-आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ।

परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने धार्मिक विश्वास पनि रहेको छ ।

लुतो फाल्दा घरभित्र दूषित कीटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले आ-आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, बु्न्दुक पड्काउने,शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ।यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास रहेको छ।भोलिपल्ट खेतबारीमा पसे राँके लाग्छ भन्ने जनविश्वास अनुरुप आजको दिन खेतबारीको काम गरिदैन् ।