काठमाडौं,फागुन,१४- आठ वर्ष पछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा आज उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् । संशोधित कार्यतालिका अनुसार शनिबार सार्बजनिक विदा भए पनि स्ववियु चुनाव हुने काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ । हरेक दुई(दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यसपटक आठ वर्ष पछि हुँदैछ । यसपटक स्ववियु निर्वाचनकै इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रति चुनाव प्रणाली अपनाइँदैछ ।
निर्वाचनको सुरक्षाका लागि क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
त्रिभुवन विश्वविद्यालयले सार्बजनिक गरेको कार्यतालिका अनुसार फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ । १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोही दिन पाँच बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
मिनभवन क्याम्पसमा आगजनी, त्रिचन्द्रमा ताला
विद्यार्थी भर्ना लगायतका विवादका कारण केही क्याम्पसहरुमा आगजनी र तालाबन्दी भएका छन् । भर्ना विवादका कारण त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।मिनभवन क्याम्पसमा फोरम लोकतान्त्रिकका विद्यार्थीहरुले शुक्रबार राति लेखा शाखामा आगजनी गरिदिएका छन् । आगजनीका कारण करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ । सो क्याम्पसमा स्ववियु निर्वाचन पनि अनिश्चित भएको छ ।
राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा वैद्य माओवादी निकट अखिल क्रान्तिकारीले विद्यार्थीको रजिष्टर जलाएको छ । स्ववियु चुनावको लागि विद्यार्थी परिचयपत्र वितरण भइरहेका बेला क्रान्तिकारी निकट विद्यार्थीहरुले रजिष्टर खोसेर आगजनी गरेका थिए ।
त्रिवि अन्तर्गत ६० आंगिक क्याम्पसमध्ये काठमाडौं उपत्यकामात्रै २२ क्याम्पस छन् । तिमध्ये करिब करिब डेढ दर्जन क्याम्पसमा बिभिन्न विवादहरु सिर्जना भएका छन् । अन्य क्याम्पसहरुमा भने निर्वाचन प्रक्रिया निर्वाध रुपले अघि बढिरहेको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बताए । उनले भने, ‘सबै क्याम्पसमा होइन, केहीमा समस्या छन् । समस्या समाधानको पहल भइरहेको छ ।
केन्द्रीय क्याम्पस कीर्तिपुर र पाटन क्याम्पसमा पनि तालाबन्दी
स्ववियु निर्वाचन नजिकिएसँगै बिभिन्न माग राख्दै विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सात विद्यार्थी संगठनहरुले शुक्रबार तालाबन्दी गरेका छन् ।
पाटन संयुक्त क्याम्पसमा पनि तालाबन्दी भएको छ । क्याम्पसमा गरिएको एकमुष्ठ विद्यार्थीको फर्जी भर्ना खारेज गर्नुपर्ने, तीन विद्यार्थी संगठन ९नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी०को सिण्डीकेट खारेज हुनुपर्ने लगायतका माग राखी तालाबन्दी गएकिो हो ।
अखिल क्रान्तिकारी मोहन वैद्य, अखिल क्रन्तिकारी ९विप्लव०, नयाँ शक्ति विद्यार्थी युनियन लगायतले ताला लगाएका हुन् ।यसैगरी डोल्पा सदरमुकाम दुनैस्थित डोल्पो क्याम्पसमा पनि तीन दिनदेखि तालाबन्दी छ । त्रिभुवन विश्वविद्यालयको निर्देशिका विपरित क्याम्पस प्रशासनले विद्यार्थी भर्ना गरेको भन्दै एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको हो ।
गुल्मीको रुद्रावती बहुमुखी क्याम्पसमा लगाइएको ताला पनि खुलेको छैन ।
तराई मधेसका ८ जिल्लाका क्याम्पसमा पनि तालाबन्दी
संविधान संशोधन विना स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको भन्दै असन्तुष्ट मधेस केन्द्रित दल निकट विद्यार्थीहरुले तराई मधेसका क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । दुई नम्बर प्रदेश अन्तर्गतका आठ जिल्लाहरुका प्रमुख क्याम्पसहरुमा ताला लगाइएको छ ।
धनुषा, महोत्तरी, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट लगायत जिल्लाका क्याम्पसहरुमा मधेस केन्द्रित दल निकट विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । उनीहरुले स्ववियु निर्वाचन हुन नदिने बताएका छन् । अनलाईनखबरबाट साभार