ऊर्जामा लगानी गर्न बङ्गलादेशलाई ऊर्जा मन्त्री पुनको आग्रह

फाईल तस्विर !!

काठमाडौँ,साउन,९-ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बङ्गलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी भिर्याउन आग्रह गर्नुभएकोे छ ।नेपालका लागि बङ्गलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालमा लगानी मैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गर्नुभयो ।

राजदूत साम्स आफ्नो चार वर्षे कार्यकाल पूरा गरी केही दिनपछि बङ्गलादेश फर्कंदै हुनुहुन्छ ।नेपाल र बङ्गलादेशबीच २०७५ साल भदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बङ्गलादेशले नेपालबाट आगामी सन् २०४० भित्र नौ हजार मेगावाट बिजुली खरिद गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसअघि मन्त्री पुन र बङ्गलादेशका ऊर्जा मन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेसन) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

मन्त्री पुनले बङ्गलादेश र नेपालबीच जनस्तरमा समेत सम्बन्ध प्रगाढ बन्दै गएको चर्चा गर्नुभयो।मन्त्री पुनले राजदूत साम्सको कार्यकालमा द्विपक्षीय कूटनीतिक र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी महìवपूर्ण समझदारी भएको भन्दै प्रशंसा गर्नुभयो।जवाफमा राजदूत साम्सले नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै मन्त्री पुनको प्रशंसा गर्नुभएको थियो ।

राजदूत साम्सले कोभिड–१९ महामारीका कारण नेपाल र बङ्गलादेश दुवैले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै आर्थिक–सामाजिक चुनौतीको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण महामारी अन्त्यसँगै सुरु हुने र नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठोस खाकाबारे वार्ता हुने जानकारी राजदूत साम्सले दिनुभयो ।