आईपीएलको डेब्यु खेलमै प्रभाव छाडे सन्दीपले

आरसीबीविरुद्ध सबैभन्दा किफायती बलिङ

काठमाडौ,बैशाख,२९-

इन्डियन प्रिमियर लिग (आईपीएल) को डेब्यु खेलमै नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई प्रमाणित गरेका छन् । 

दिल्ली डेयर डेभिल्सले प्ले अफमा पुग्ने सम्भावना समाप्त भएको अवस्थामा प्लेइङ ११ मा पारेपछि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले आफूलाई सबैभन्दा किफायी बलरका रुपमा प्रमाणित गरेका हुन् । 

दिल्लीबाट पहिलो, तेस्रो, छैटौँ र बाह्रौँ ओभरमा बलिङ गरेका उनले केबल २५ रन खर्चेर १ विकेट समेत लिए । आरसीबीका ओपनर पार्थिब पटेलले ८ बलको सामना गर्दै ६ रन बनाएको अवस्थामा सन्दीपले एलबीडब्लु धरापमा पारेका थिए । 

कसिलो बलिङ गरेका सन्दीपले स्पिनको प्रभाव देखाउँदै आरसीबीका ब्याटसम्यानहरू विराट कोहली र एबी डिभिलियर्सलार्इ समेत दबाबमा राखे । उनले ११.५ ओभरमा एबी डि भिलियर्सलाई एउटा मात्रै छक्का हान्ने मौका दिए । समग्र बलिङको कुरा गर्दा सन्दीपले १० डट बल प्रहार गरे, उनको इकोनोमी ६.२५ थियो । 

त्यसैगरी उनले पेभेलियन फर्काएका पार्थिब पटेलले पनि केबल एक मात्रै चौका प्रहार गर्न सके । पटेलले २.३ ओभरमा चौका हाने लगत्तै २.४ ओभरमा सन्दीपले उनलाई एलबीडब्लु धरापमा पारे । आरसीबी तथा भारतीय कप्तान विराट कोहलीले पनि सन्दीपको बलमा एक मात्रै चौका प्रहार गर्न सके । कोहलीले छैटौँ ओभरमा सन्दीपको पहिलो बलमा चौका हानेपनि त्यसपछि १–१ रन मात्रै बटुल्न सके । 

दिल्लीका अन्य बलरमा हर्षल पटेल सबैभन्दा महँगा सावित भए । उनले ४ ओभर बलिङ गर्दै ५१ रन खर्चेर एक विकेट लिए । न्यूजील्यान्डका टेरेन्ट बोल्टले पनि चार ओभर नै बलिङ गर्दै ४० रन खर्चेर २ विकेट लिए । अर्का बलर जुनियर डालाले ३ ओभर बलिङ गर्दै ३४ रन दिए । १ विकेट लिएका अमित मिश्राले ४ ओभरमा ३३ रन खर्चिए । 

सन्दीपले गतिलो प्रदर्शन गरेको खेलमा दिल्ली भने पराजित भएको छ । दिल्ली डेयर डेभिल्स रोयल च्यालेन्जर्स बैंगलोरसँग ५ विकेटले पराजित भएको हो । 

बैंगलोरलाई जिताउने क्रममा नटआउट रहेका एबी डिभिलियर्सले ३७ बलमा ७२ रनको योगदान दिए । त्यसैगरी विराट कोहलीले ४० बलमा ७० रनको गतिलो पारी खेले । उनीहरूले तेस्रो विकेटका लागि सतकीय साझेदारी गरे । अन्य ब्याटसम्यानको प्रदर्शन विर्सन लायक रह्यो । दिल्लीका लागि सबैभन्दा किफायती बलिङ सन्दीपले गरे । 

उनले ४ ओभर बलिङ गर्दै केबल २५ रन मात्रै खर्चिएर बैंगलोरको एक विकेट लिए । सन्दीपले पार्थिप पटेललाई ८ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्काए । 

त्यसैगरी बोल्टले ४ ओभर नै बलिङ गर्दै ४० रन खर्चेर २ विकेट लिन सफल भए । यसअघि फिरोज शाह कोटला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १८१ रन बनाएाको थियो । 

दिल्लीका लागि रिसभ पन्तले ३४ बलमा सर्वाधिक ६१ रनको योगदान दिए । त्यसैगरी नटआउट रहेका अभिषेक शर्माले १९ बलमा ४० रन बनाए । बैंगलोरका लागि युजभेन्द्र चाहलले सर्वाधिक २ विकेट लिएका थिए । दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दै दिएको १८२ रनको चुनौती पछ्याएको बैंगलोरले ६ बल बाँकी रहँदै जित दर्ता गराएको हो । साभार : अन्नपुर्णबाट