बालाचतुर्दशीको अवशरमा खोटाङको हलेसीमा दर्शनार्थिको भीड

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर १-
बालाचतुर्दशीको अवशरमा शुक्रबार खोटाङको हलेसीमा दर्शनार्थीहरुको बाक्लो भीड लागेको छ । बालाचतुर्दशीको अवशरमा हलेसीमा झन्डै एक हप्तासम्म लाग्ने मेला भर्न, दर्शन गर्न र सतबीज छर्न श्रद्धालु तथा भक्तजनहरुको बिहानैदेखि बाक्लो घुँईचो लागेको हो ।

किरात, बौद्ध र हिन्दुधर्मावलम्बीहरुको त्रिबेणी स्थलकारुपमा मानिदै आएको हलेसीमा लाग्ने बालाचतुर्दशी मेला भर्न, धान, तिल, जौ, गहँु, मकै, चना, कागुनो लगायतका अन्न मिसाएर तयार गरिएको सतबीज छर्न र दर्शन गर्न नेपालबाहेक, छिमेकी देश भारत, चीन, भुटान लगायतका ठाउँबाट श्रद्धालु भक्तजनहरु आउने गरेका छन् । दिनभर सतबीज छरेका कतिपय दर्शनार्थीहरु आज रातभर महादेबस्थानमा पूजापाठ गर्दै जाग्राम बस्छन् ।

मेला सुरु भएसँगै हलेसी बजारका होटल तथा पहलहरुमा बाक्लो भीड बढेको छ । धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेब गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरबगुफा, दुङ्देलो गुफा लगायतका स्थानहरुको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु हलेसी आउने गरेका छन् ।

यस्तै, बालाचतुर्दशीकै अवशरमा सदरमुकाम दिक्तेल नजिक रहेको मझुवागढी देबिस्थानमा पनि सतबीज छर्ने दर्शनार्थीको भीड लागेको छ । खोटाङ र भोजपुरबीचको उच्च स्थानमा रहेको पर्यटकीय स्थल ट्याम्केडाँडामा बालाचतुर्दशी मेला लागेको छ । उता, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिका तथा पर्यटकीय स्थल बराहपोखरीमा पनि बालाचतुृदशी मेला भर्नेको घुईंचो लागेको छ ।