भरतपुर–१९ मा आज पुनः मतदान हुँदै :सुरक्षा व्यवस्था कडा

भरतपुर,साउन,२०-

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा आज पुनः मतदान हुँदैछ । पुनः मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो  ।

मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरी मतदानलाई शान्तिपूर्ण बनाउने तयारी पूरा भएको घिमिरेले जानकारी दिनुभयो । बिहीबार बिहानैदेखि वर्षा भएपनि चुनौतीका बाबजुद् तयारी पूरा भएको हो ।

आज पनि वर्षा हुनसक्ने सम्भावना रहेकाले मतदानस्थलमा टेन्ट राखेर पानीको प्रभाव नपर्ने व्यवस्था गरिएको घिमिरेले जानकारी दिनुभयो । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

भरतपुर–१९ मा तीनओटा मतदानस्थलमा ६ ओटा मतदान केन्द्र कायम गरिएको छ । ती मतदान केन्द्रमा जम्मा ४ हजार ७९७ मतदाता रहेका छन् ।वैशाख ३१ गते भएको निर्वाचनकाक्रममा यो वडाबाट २ हजार ८९७ मत खसेको थियो ।

गत जेठ १४ गते राति मतगणनाकाक्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातीदिएपछि सर्वोच्च अदालतको आदेशअनुसार १९ नम्बर वडामा आद पुनः मतदान गर्न लागिएको हो ।भरतपुरको मेयर पदमा नेपाली कांग्रेस र माओवादी केन्द्रका रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीले उम्मेदवारी दिएका छन् ।