जापानमा भाषा मात्रै अध्ययन गर्न जानेले अब एनओसी नपाउने

उच्च शिक्षा अध्ययन गर्न जानेहरुलाई मात्र एनओसी दिने

काठमाडौं,चैत्र,२९-जापानमा भाषा मात्रै अध्ययन गर्न आउन चाहानेले अब एनओसी नपाउने भएका छन्।

यसअघि जापानमा भाषा अध्ययन गर्न जानका लागि मात्रै पनि विद्यार्थीले एनओसी पाउँदै आएका थिए ।तर अब भाषा पनि डिग्री सम्बन्धित अर्थात शैक्षिक कार्यक्रमसँग जोडिएको भए मात्रै एनओसी पाउने भएका छन् ।

वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्र एनओसी दिने भएको छ। 

विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका छन् ।

वैदेशिक अध्ययन अनुमति शाखाले कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा -स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई पनि एनओसी दिँदै आएको थियो ।

तर चैत १९ गतेदेखि वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ ले स्नातक तह पछाडिका शिक्षालाई मात्र उच्च शिक्षा परिभाषित गरेकाले स्नातक तहभन्दा मुनिका कुनै पनि शैक्षिक कार्यक्रमका लागि एनओसी दिन छोडिएको शाखा प्रमुख बासुदेव वस्तीले जानकारी दिनुभयो।

कक्षा १२ पास गरेको तर स्नातक तह अध्ययनका लागि योग्यता कम पुगेकाले नपाउने उहाँको भनाइ छ।उहाँले भन्नुभयो, ‘यो निर्देशिकाले परिभाषित गरेको स्नातक तह वा सोभन्दा माथिको शैक्षिक कार्यक्रमलाई मात्रै एनओसी दिन्छौं । यो चैत १९ गतेदेखि लागू भएको छ।’

नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र सोही आधारमा निर्देशिका बनेको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ ।

जापानमा स्नातक अध्ययन गर्नका लागि पनि निश्चित समय भाषा अध्ययन गर्नुपर्ने भएकाले त्यसमा समस्या नहुने शाखाले जनाएको छ ।विश्वविद्यालयले दिने अफर लेटरमा स्पष्ट उल्लेख गरिएको हुने र शैक्षिक कार्यक्रमसँग जोडिएको भाषा अध्ययन हुनुपर्ने छ ।

शाखाका अनुसार गत आर्थिक वर्षमा डिप्लो तह अध्ययन गर्न जानेहरु ८ हजार ६१०, भाषा पढ्न जानेहरु ६ हजार ६०४ ले एनओसी लिएका थिए ।

वैदेशिक अध्ययन अनुमति शाखाले सूचीकृत भएका विश्वविद्यालय, शैक्षिक संस्थामा सञ्चालित शैक्षिक कार्यक्रम अध्ययन गर्नका लागि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र पाउने भएका छन् । शाखामा सूचीकृत नभएका विश्वविद्यालय तथा शैक्षिक संस्था र शैक्षिक कार्यक्रमका लागि शाखाले एनओसी जारी नगर्ने शाखा प्रमुख वस्तीले जानकारी दिए ।

यसअघि शैक्षिक परामर्श दातृ निकाय (कन्सल्टेन्सी) हरुले आफ्नै तरिकाले विश्वविद्यालय, शैक्षिक संस्था, कार्यक्रम खोजी गर्ने, भिषा लगाउने र अन्तिम समयमा मात्रै एनओसी लिने गरेका थिए । तर अब भने निर्देशिकाले कन्सल्टेन्सीहरुको भूमिका संकुचित बनाउँदै शाखामा सूचीकृत भएका विश्वविद्यालय, शैक्षिक संस्था, शैक्षिक कार्यक्रमका लागि मात्रै एनओसी जारी गर्ने भएको छ ।

शाखाको अनुसार अब बैशाख पहिलो हप्ताभित्र शाखाको सम्पूर्ण काम अनलाइनमा जाने र निर्देशिका पूर्णरुपमा लागू हुनेछ ।

त्यसपछि विद्यार्थीले प्रविष्ट गरेको कागजातको आधारमा बैंकले वैदेशिक मुद्रा सटहीको सुविधा पाउने छन् । त्यसले गर्दा विद्यार्थीको कागजातको दोहोरो तथ्य जाँच हुने र कसैले कैफियतपूर्ण कागजात पेश गरेर एनओसी लिएको रहेछ भने पनि बैंकमा सक्कली कागजात बुझाउनुपर्ने भएपछि गलत काम रोकिने शाखाले जनाएको छ।