वैशाख १ गतेदेखि विराटनगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध

Image Not Foundविराटनगर,चैत्र,२९-विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि महानगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । महानगरले सार्वजनिक स्थानमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन पनि निषेध गरेको छ ।

गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रमा वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो।ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारीसाधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उहाँले बताउनुभयो।

केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउण्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणको विषयमा छलफल गरेको थियो।छलफलमा सरोकारवालाहरूले डिजे साउन्ड सिस्टम र सवारीसाधनको प्रेसर हर्न बजाउन निषेध गर्नुपर्ने सुझाव दिनुभएको थियो।

विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्र महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको मेयर कोइरालाले बताउनुभयो।महानगरले सरसफाइ, फुटपाथमा निर्माण लगायतका सामग्री राख्न नियन्त्रण, सडकमा पार्किङ निषेध, कर संकलनलगायत अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो।