घोराहीको नगरसभामा सडक पूर्वाधार प्राथमिकता

नरेश खड्का /
दाङ, भदौ ३-

घोराही उपमहानगरपालिकाको प्रथम नगरसभा आज शनिबार हुने भएको छ । नगरसभाले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छ । नयाँ संरचनामा गएपछिको पहिलो नगरसभाबाट चालु आर्थिक वर्षभरि गरिने कार्यक्रमहरु सार्वजनिक हुँदैछ ।

उपमहानगरपालिकाले बिषेश गरी सडक पूर्वाधारको बिकासलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रम ल्याउन लागेको जनाएको छ । सडक सञ्जाललाई वडा तहसम्म बिस्तार र दिगो बनाउन सके मात्रै अन्य क्षेत्रको बिकासमा सहजता आउने भन्दै सडक पूर्बाधारलाई प्राथमिकतामा राखिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभएको छ ।

उपमहानगरले सदरमुकाम देखी प्रत्येक वडामा बाह्रैमास र चौबिसै घण्टा गाडी चल्न सक्ने गरि विस्तार र मर्मत गर्ने कार्यक्रम ल्याउन लागेको छ । सडक मर्मत तथा निर्माण गर्दा लोडर नै प्रयोग गरेर ग्राभेल विच्छाउने योजना रहेको उपमहानगरले जनाएको छ ।

यसैगरी : अन्तराष्ट्रिय बिमान स्थल, बृहत रिङरोड, पर्यटन प्रर्बद्धनका लागि बृहत गुरुयोजना सहितको सम्भाव्यता अध्ययन थाल्ने गरि निति तथा कार्यक्रम ल्याउन लागिएको छ । साथै, नगर क्षेत्रमा रहेका पर्यटकिय प्राकृतिक सम्पदाहरुको बृहत्तर बिकास गरि चिडियाखाना, रमोरन्जन पार्क, बालउद्यान सहित हरेक क्षेत्रको समानुपातिक बिकासलाई अघि बढाउने खालका कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी भएको नगर प्रमुख चौधरीले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, यातायात, खेलकुद, कलासाहित्य, पर्यटन, पूर्वाधार, खानेपानी सहित लक्षित बर्गको उत्थान र बिकासका कार्यक्रमहरुलाई प्राथमिकता दिएर निति तथा कार्यक्रम ल्याउन लागिएको छ । निति तथा कार्यक्रम प्रस्तुत गरेको केही दिन पछि उपमहानगरले बजेट सार्वजनिक गर्ने छ ।