खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

फाईल तस्विर !!

काठमाडौं,साउन,१-प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई बोलाएर प्रधानमन्त्री देउवाले खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप केन्द्रहरू बढाएर खोप लगाउने व्यवस्था गर्न पनि प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको उहाँको ट्वीटरमार्फत जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री भएपछि देउवाले आगामी चैतसम्म सम्पूर्ण नेपालीलाई खोप लगाउने प्रतिबद्धता जनाउनुभएको थियो।उहाँले असोजसम्म ३० प्रतिशत नेपालीलाई खोप दिइसक्ने समेत जनाउनुभएको थियो ।