काठमाडौँ,साउन,१-चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘उहाँले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९को थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बारेमा जानकारी गराउनुभएको छ,’मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो । नेपाल सरकारले पनि चीनबाट ४० लाख डोज खोप खरिद गरेको छ ।
यसअघि अमेरिकाले एक डोज मात्रै लगाए हुने जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।
त्यसैगरी नेपालले कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । नेपालले भारतबाट २० लाख डोज खरिद गरेकोमा हालसम्म १० लाख डोज मात्रै आएको छ ।