साफ : नेपाल श्रीलंकालाई हराउँदै शीर्षस्थानमा

काठमाडौं,असोज,१९-साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा श्रीलंकालाई हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकालाई ३-२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो ।

खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । श्रीलंकाले खेलमा तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि नेपालले काउन्टर अट्याकमा श्रीलंकालाई समस्या दिएको थियो । पहिलो हाफमा सुमन लामा तथा दोस्रो हाफमा अन्जन विष्ट र आयुष घलानले नेपालका लागि गोल गरे । श्रीलंकाका मर्विन ह्यामिल्टन र डिलन दे सिल्भाले गोलअन्तर घटाएका थिए ।

खेलको १९ औं मिनेटमा डिलन डे सिल्भाले एकल प्रयासमा निकालेको आक्रमणले राम्रो फिनिस पाउन सकेन । उनले बायाँ विंगमा गौतम श्रेष्ठलाई सहजै बिट गर्दै बढाएको आक्रमणको अन्तिम क्रस बाहिरिएको थियो । २४ औं मिनेटमा डिलनकै पेनाल्टी क्षेत्र बाहिरको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । खेलको ३० औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लियो । नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै श्रीलंकाका गोलरक्षक नेपालको प्रयासमा बाधक बने । अन्जन विष्टले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिकलाई सुजनले डाइभ दिँदै सुन्दर बचाउ गरे । ५२ औं मिनेटमा अन्जनकै गोलमा नेपालले अग्रता दोब्बर पार्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका आयुष घलानले बायाँ विंगमा दुई डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रबाट दिएको कटब्याकमा नवयुगको पहिलो प्रहार सफल भएन । उक्त प्रहारपछि आएको रिबाउन्डमा अन्जनले सहजै गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

५६ औं मिनेटमा काभिन्दु इशानको प्रहार गोलरक्षक बिट भइसकेको अवस्थामा सुमन अर्यालले गोललाइनबाट बल क्लियर गर्दै नेपालको २ गोलको अग्रता कायम राखेका थिए । तर त्यसै क्लिअरेन्समा बनेको मुभमा श्रीलंकाले गोल फर्कायो । मार्विन ह्यामिल्टनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो । ६२ औं मिनेटमा काभिन्दुले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार गौतम श्रेष्ठले छेक्दै नेपालको लागि खतरा टारेका थिए ।

६८ औं मिनेटमा नेपालले अग्रता बढाउने सुवर्ण अवसर खेर फाल्यो । काउन्टर अट्याकमा ३ भर्सेस १ को स्थितिमा अघि बढेको नेपालका लागि मनिषको पासमा सन्तोष तामाङले गोलरक्षकलाई बिट गर्न सकेनन् । उनको प्रहार गोलरक्षक सुजनले विफल पारेपछि आएको रिबाउन्डमा आयुष पनि गोल गर्न असफल रहे ।

७४ औं मिनेटमा मनिष डाँगीले काउन्टर अट्याकमा बढेको आक्रमणलाई फिनिस गर्न सकेनन् । श्रीलंकाका डिफेन्डर बिट भएपछि वन भर्सेस वनको स्थितिमा गोलरक्षक सुजनले मनिषको प्रहार बचाएका थिए । लगत्तै आयुषले अनमार्क रहेको अवस्थामा हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।

८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जितनजिक पुर्याएका थिए । आयुषले तेज तामाङको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलरक्षक सुजनलाई चिप गर्दै नेपाललाई ३-१ ले अघि बढाएका थिए । इन्ज्युरी समयमा श्रीलंकाले पेनाल्टी पाएको थियो । डिलन डे सिल्भाले पेनाल्टीमा गोल गर्दै श्रीलंकालाई खेलमा फर्काएका थिए । लगत्तै श्रीलंकाका चमोदले पेनाल्टी क्षेत्र भित्र पाएको अवसर खेर फालेपछि नेपाल जितनजिक पुगेको थियो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा जित हासिल गरेको टोलीबाट २ परिवर्तन गरेका थिए । प्रशिक्षक अलमुताइरीले पहिलो खेलको तुलनामा आक्रामक परिवर्तन गर्दै दीनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा समेटेका थिए ।

गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्दा डिफेन्समा अनन्त तामाङलाई रोहित चन्दले साथ दिए । पछिल्लो खेलझैं गौतम श्रेष्ठ र सुमन अर्याल निरन्तर विंगब्याकमा रहे । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङले विशाल राईको साथ दिएका थिए । आक्रमणमा अन्जन विष्ट र नवयुग श्रेष्ठसँगै सुमन लामा अग्रपंक्तिमा थिए ।

दोस्रो हाफमा विशाल राईको स्थानमा आयुष घलान मैदान प्रवेश गरेका थिए । ६४ औं मिनेटमा सन्तोष तामाङ र मनिष डाँगीले सुमन लामा र नवयुग श्रेष्ठको स्थान लिएका थिए । खेलको ८४ औं मिनेटमा अन्जन विष्टको स्थानमा सुजल श्रेष्ठ मैदान प्रवेश गरेका थिए । इन्ज्युरी समयमा मनिष डाँगीको स्थानमा दीनेश राजवंशी मैदान प्रवेश गरेका थिए ।

लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।हाम्रो खेलकुद