साफ च्याम्पियनसिप: भारत र बंगलादेशको १-१ गोलको बराबरी

काठमाडौं,असोज,१८-माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपाधि दाबेदार  भारत बराबरीमा रोकिएको छ ।

सोमबार भएको खेलमा भारत बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सुरुआती अग्रता जोगाउन नसक्दा भारत रोकिएको हो ।

खेलको २६ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, खेलको ७४ औं मिनेटमा यसीन अराफतले गोल गर्दै बंगलादेशलाई हारबाट जोगाए ।

यस्तै खेलको ५४ औं मिनेटमा विश्वनाथ घोसले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।

यसैबिच:नेपालले आजै आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ ।माल्दिभ्सको मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ ।