देशभर १४ औं राष्ट्रिय धान दिवस मनाईयो

दाङमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान

रोशन घर्ती,

दाङ,असार,१५-

मुठी रोपेर मुरी उब्जाउने महिना अर्थात असार १५ गतेका दिन आज दाङ सहित देशभर १४ औं राष्ट्रिय धान दिवस मनाईएको छ । रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ ।

विक्रम संम्वत २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थियो । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालमा विक्रम संवत् २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको विज्ञहरुको भनाई छ । नेपालको कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ ।

त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन ब्यस्त हुन्छन् । धान दिवसका अबसरमा जिल्ला कृषि बिकास कार्यालयले ढिकपुरमा रोपाई कार्यक्रमको आयोजना गरेको छ । विभिन्न संघ संस्थाले असार पन्ध्रको अवसर पारेर धान रोपाईं र दही चिउरा खाने कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।।

यसैविच
दाङमा यस बर्ष करिब ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । जिल्ला कृषि बिकास कार्यालय दाङका अनुसार करिब ३८ हजार हेक्टर क्षेत्रफलको खेतमा धान रोप्ने किसानहरुले तयारी गरेका छन् । खोलाको पानी र आकाशे पानीको भरमा जिल्लामा धान खेती हुदै आएको छ ।

खोला तथा नदि आसपासका खेतीहरुमा भने रोपाई सुरु भैसकेको छ । अहिले सम्म करिब २ सय हेक्टर क्षेत्रफलमा धान रोपि सकिएको कार्यालयका योजना अधिकृत तिलक केसीले जानकारी दिनुभयो । देउखुरी राप्ती नदिको आसपासमा धान रोपिएको छ ।

किसानहरुले सुख्खा र रामधान बढी रोप्ने गरेका छन् । अहिले सम्म करिब ५० प्रतिशत धानको बिउ राखिसकिएको कार्यालयको भनाई छ । साउन १५ सम्म रोपाई सक्दा उत्पादनमा ह्रास नआउने कृषि बिज्ञहरुको भनाई छ ।।