जापानमा भूकम्प परी मृत्यु हुनेको संख्या ६४ पुग्यो, उद्धार कार्य जारी

केहि दिन सम्म शक्तिशाली पराकम्पनहरू आउन सक्ने

टोकियो,जापान,१८-जापानको इशिकावा प्रान्तलाई केन्द्र विन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ६४ जना पुगेको छ।

नयाँ वर्ष २०२४ साल सुरु भएकै दिन जनवरी १ तारिख सोमबार ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजी भन्ने सहरमा व्यापक क्षति तथा आगलागी भएको छ।बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूमा खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्म के कति क्षती भयो भन्ने अझै पूर्ण जानकारी आउन सकेको छैन।

भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मङ्गलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला पराकम्पन गएका छन्।जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो।

स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इशिकावाका अधिकारीहरूले सरकारलाई विपद् तथा राहतको लागि ‘सेल्फ डिफेन्स फोर्स’ का कर्मचारीहरू पठाउन आग्रह गरेका छन्।भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पुर्याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन्।

क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिसहरू भत्किएका घरहरूमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटनाहरू आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन्।

जापानका मौसम विद्हरुले भने अर्को दुई तीन दिनसम्म शक्तिशाली पराकम्पनहरू आउन सक्ने चेतावनी दिएका छन्।