बच्चाको जिउमा आउने रातो-रातो दाग के हो ?

इन्द्र कार्की
महेन्द्रनगर,जेठ,२८  के तपाईंले आफ्ना बच्चाको छालामा नयाँ रातो-नीलो रङको कुनै दाग वा समस्या देख्नु भएको छ ? सादय देख्नु भएको होला, किनकि संसारभरिकै बालबालिकामा देखिने यस्तो समस्या नेपालमा पनि प्रसस्त पाइन्छ। जन्मँदा कुनै समस्या नदेखिएको तर बच्चा बढ्दै जाँदा छालामा सानो थोप्लोजस्तो रातो रङको दाग देखिएको छ भने ध्यान दिनुपर्छ। त्यस्तो दाग या लुर्को उमेरसँगै बढ्दै गएको हुन्छ। रङ परिवर्तन भएको पनि हुन सक्छ। रातो रङको दाग बिस्तारै खैरो वा निलो हुन सक्छ। यदि, यस्तो समस्या देखिएको छ भने त्यो नशाको जन्मजात समस्या पनि हुन सक्छ। यसलाई मेडिकल क्षेत्रमा ‘भास्कुलर एनोमलिज’ भनेर चिनिन्छ।

के हो समस्या?

हाम्रो शरीरमा तीन थरिका नशा हुन्छन्। पहिलो हो ‘आर्टरी’, जसले मुटुबाट रगत शरीरका सबै भागमा लाने काम गर्छ। दोस्रो हो ‘भेन’, जसले शरीरका सबै भागबाट रगत मुटुमा ल्याउने काम गर्छ। र, तेस्रो हो ‘लिम्फाटिक भेसेल’, जसले ‘लिम्फ’ भन्ने तरल पदार्थ शरीरका विभिन्न भागबाट लिएर जाने काम गर्छ। हाम्रो शरीरमा यी तीनवटै नशा बन्ने एउटा प्रक्रिया छ। यो प्रक्रियामा कुनै अवरोध आएमा या धेरै बन्ने अवस्था आएमा भास्कुलर एनोमलिजको समस्या देखा पर्न थाल्छ।

यी तीन वटा नशाको समस्याको छुट्टा-छुट्टै पहिचान छ र उपचार विधि पनि फरक-फरक हुन्छ।

‘हेमान्जियोमा’ भन्ने एक प्रकारको ट्युमर जस्तो नशाको समस्या हुन्छ, जुन उमेर र समय अनुसार आफैँ निको हुने र हराउँदै जान सक्छ। तर, अलि धेरै समय लाग्न सक्छ।

‘भेन्स मालफर्मेसन’ का लागि दाग या लुर्को भएको ठाउँमा सुइमार्फत औषधि दिएर सुकाउने कोसिस गरिन्छ। यदि औषधिले नसुकेमा वा सुइ लगाउन नमिल्ने ठाउँमा त्यस्तो समस्या भए शल्यक्रिया गरेर बिग्रिएको भाग निकाल्नुपर्ने हुन्छ।

‘लिम्फाटिक मालफर्मेसन’ को लागि पनि सुरुमा जुन ठाउँमा समस्या छ त्यहाँ सुइ मार्फत औषधि दिएर सुकाइन्छ। यदि औषधिले समाधान भएन भने त्यसको पनि उपाय भनेको शल्यक्रिया नै हो।

‘आर्टेरियल मालफर्मेसन’ मा चाहिँ शल्यक्रियाबाट मात्र उपचार सम्भव हुन्छ।

कहिलेकाहीँ यी तीनवटै नशाहरुको समस्या मिसिएर एकै ठाउँमा देखा परेको हुन सक्छ। यस्तै सानो-सानो नशाहरु (क्यापिल्लारिज) को पनि समस्या हुन सक्छ।

किन गर्ने शल्यक्रिया

यस्तो समस्या छालामा देखिने भएकाले यसले मान्छेको स्वरुप बिगार्छ। छालामा देखिने फरक रङ र मासुका डल्लाले बच्चाको शरीर नराम्रो देखिन्छ । फेरि यो उमेरसँगै बढ्दै जाने भएकाले जतिसक्दो चाँडै उपचार गरेर ढुक्क हुनु राम्रो हो ।

त्यस्ता दागबाट रक्तस्राब हुन सक्ने भएकाले ।

भविष्यमा क्यान्सरको सम्भावना रहेकाले ।

त्यस्तो समस्या बढ्दै गएर नजिकैका अन्य अंगलाई हानी पुर्याउन सक्ने भएकाले ।

बच्चाहरुमा यो समस्या देखा परेको छ भने तत्काल चिकित्सकसँग सल्लाह लिनुपर्छ। विशेष गरी पेडियाट्रिक सर्जन वा भास्कुलर सर्जनलाई भेटेर रोगका बारेमा जानकारी लिनुपर्छ। विशेषज्ञको सुझाव अनुसार कस्तो उपचार गर्ने भन्ने टुंगोमा पुग्नु राम्रो हो । सुइ मार्फत औषधि दिएर निको पार्ने हो कि शल्यक्रिया गरेर समस्या देखिएको भाग काटेर फ्याल्ने हो भन्ने सल्लाह दिएर तत्काल उपचारमा जुट्नु राम्रो पक्ष हो। यसलाई हेलचेक्र्याइँ गर्नाले बच्चा ठूलो हुँदै गएपछि कुरुप बन्ने वा त्यस्ता दाग बढेर अरु समस्या निम्त्याउने हुन सक्छ ।

स्वास्थ्य खवर पत्रिका को सहयोगमा