तुलसीपुरका व्यापारी श्रेष्ठको अवस्था अझै अज्ञात

उद्योग वाणिज्य संघद्वारा रिहाईका लागि अपिल

नरेश खड्का,

दाङ,जेठ,२८-

शुक्रवार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठीत व्यापारी राज कुमार श्रेष्ठको अवस्था अझै सम्म पनि अज्ञात रहेको छ । श्रेष्ठको अवस्था अज्ञात भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले आज विहान आकस्मिक बैठक डाकेको थियो । बैठकले श्रेष्ठको सकुसल रिहाईका लागि सम्वन्धीत पक्ष संग अपिल समेत गरेको छ ।

संघका अध्यक्ष विमल रिजालले यथासक्य रिहाईका लागि अपिल एवं सुरक्षा निकायलाई खोजी कार्यका लागि अनुरोध गरेका छन । साथै उनले व्यवसायीक सुरक्षामा गम्भिर वन्न प्रहरी प्रशासन संग अनुरोध गरेका छन । साथै अध्यक्ष रिजालले सत्य तथ्य सूचना प्रहरीलाई उपलव्ध गराई सहयोग गरिदिनुहुन समेत आग्रह गरेका छन । यस्तै तुलसीपुरमा व्यवसायीहरु एकाएक अपहरणमा पर्ने घटनाहरु पटक पटक दोहोरिए पछि व्यवसायीहरु संसकित वनेका छन् ।

यता शुक्रवार तुलसीपुरवाट राती ८ वजे अपहरणमा परेका व्यापारी राज कुमार श्रेष्ठको खोजी कार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए । उहांका अनुसार प्रहरीले कलडिटेलका आधारमा घटनाको नजिक पुगेको वताएका छन् । एसपी सिंहले अनुसन्धानलाई व्यापक वनाउन गहन सुरक्षा संयन्त्र परिचालन गरिएको समेत जानकारी दिए ।

व्यापारी श्रेष्ठ सवार वा.१२ च १०७१ नम्बरको निजी जिप र भारतिय नम्बर प्लेटको गाडी समेत सल्यानको कपुरकोट गाउंपालिका सिनवाङ्ग र रिमको विच जंगलमा पर्ने शितल वजारमा फेला पारेको सल्यान प्रहरी प्रमुख श्याम खत्रीले जानकारी दिए । श्रेष्ठ संगै घोराहीका एक जना ठेकेदार रन वहादुर घर्ति र अर्का एक जना महिलालाई समेत अपहरणकारीले संगै लगेर गएको प्रत्यक्षदर्शीहरुले वताएका छन् । श्रेष्ठ विगत लामो समय देखि तुलसीपुरमा कपडाको व्यापार व्यवसाय गर्दै  आइरहेका छन ।

यसै विच तुलसीपुरमा भएको घटनाको विषयलाई लिएर विभिन्न मानवअधिकारीवादी संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन । मानवअधिकार तथा शान्तिसमाज दाङ शाखाले आईतवार विज्ञप्ती जारी गरी तत्काल व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाईका लागि अपिल गरेको छ । शान्तिसमाज दाङका सभापति शुरेस हमाल र सचिव शरद रेग्मीले विज्ञप्ती जारी गरेका हुन ।