करार कर्मचारीलाई पनि स्थायी सरह भत्ता

इन्द्र कार्की
महेन्द्रनगर,जेठ,२८ करारमा कार्यरत कर्मचारीहरुले पनि सरकारी स्थायी कर्मचारी सरह चाडपर्व र पोशाक भत्ता पाउने भएका छन् । यसको अतिरिक्त उनीहरुले महिनामा एक दिन अतिरिक्त विदासमेत पाउनेछन् । जाँदाजाँदै प्रचण्ड नेतृत्वको सरकारले करार कर्मचारीहरुलाई पनि स्थायी सरह पोशाक, चाडपर्व भत्ता र महिनाको एक दिन विदा दिने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७४।०७५ वाट लागु हुने गरि गरिएको सो निर्णयको वारेमा सवै मन्त्रालय, आयोग र सचिवालयहरुलाई सामान्य प्रशासन मन्त्रालयले मिति २०७४ बैशाख २५ गते गरेको पत्राचारमा उल्लेख छ ।
गत बैशाख २१ गतेको मन्त्रिपरिषद बैठकबाट उक्त निर्णय भएको हो । तत्कालीन सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीको प्रस्तावमा मन्त्रिपरिषदले गरेको यो निर्णयबाट करार कर्मचारीहरुलाई राहत महसुस भएको छ । संघीयतामा कर्मचारी समायोजनको गृहकार्य भइरहेको बेला गरिएको यो निर्णयले राज्यलाई वार्षिक रुपमा कम्तिमा ५० करोडको आर्थिक बोझ थपिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
हाल करार सेवामा करिब २० हजार कर्मचारी रहेको अनुमान छ । बुढाथोकीले करार कर्मचारीहरुलाई स्थायी बनाउन जोड गरेका थिए । तर करारका कर्मचारीलाई स्थायी गर्ने उनको प्रस्तावलाई लोकसेवा आयोग, अर्थ मन्त्रालय र स्थायी कर्मचारीहरुले विरोध गरेका थिए । सुब्बाभन्दा माथिल्लो तहमा करार कर्मचारी नियुक्त गर्न पाइँदैन । धेरैजसो सवारी चालक, कार्यालय सहयोगी र कम्प्युटर अपरेटरमा करार कर्मचारी नियुक्त गरिन्छ । स्थायी कर्मचारीहरुले काम गर्न नभ्याउने तथा कर्मचारी अभावको कारण देखाउँदै करार कर्मचारी भर्ना गर्ने प्रचलन छ । कार्यालयको आवश्यकताअनुसार भन्दै बर्सेनी करार कर्मचारी भर्ना गर्ने तर त्यसपछि करार भंग नगर्दा त्यस्ता कर्मचारीहरुको संख्या प्रति वर्ष बढि रहेको छ । करार कर्मचारीसँग कामको आधारमा पारिश्रमिक दिने सम्झौता गरिएको हुन्छ ।