किन दाङ आउँदैछन् एमाले अध्यक्ष केपी ओली

नरेश खड्का

 दाङ,जेठ,२३-

नेकपा एमालेका अध्यक्ष केपी ओली दाङ आउनु हुने भएको छ । एमालेका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले यहि जेठ २८ गते अध्यक्ष ओली दाङ आउने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

मेची–महाकाली अभियानकाक्रममा दाङ आउने भनिएपछि स्वास्थ्यले साथ नदिएपछि ओली यहाँ आउन सक्नुभएको थिएन । नेता पोख्रेलका अनुसार नेकपा एमाले दाङको आयोजनामा भव्य जनसहभागिताका बीच हुने चुनावी सभासँगै उम्मेदवार सार्वजनिक गर्ने कार्यक्रमलाई सम्वोधन गर्न ओली दाङ आउन लाग्नुभएको हो ।

‘एमालेको चुनावी सभालाई सम्वोधन गर्न हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शिर्ष नेताहरु दाङ आउने कार्यक्रम तय भएको छ । एमाले स्थायी कमिटी सदस्य पोख्रेलले भन्नुभयो, ‘यसअघि अध्यक्ष ओलीलाई ल्याउन विभिन्न तयारी गरिए पनि कार्यब्यस्तताले आउन सक्नुभएको थिएन ।

जेठ २८ गते चुनावी सभालाई सम्वोधन गर्न उहाँ आउनुहुन्छ, उक्त कार्यक्रमलाई भव्य बनाउने तयारी भइरहेको छ ।एमालेका केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईञ्चार्ज मेटमणि चौधरीले जेठ २८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएकाले उक्त कार्यक्रमलाई भव्य बनाउन सबैलाई आग्रह गर्नुभयो ।

दङाली जनताको लामो प्रतिक्षापछि अध्यक्ष ओली दाङ आउन लागेको भन्दै चौधरीले सो कार्यक्रमलाई व्यवस्थित र बृहत बनाउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, जनवर्गीय संगठनलगायत शुभेच्छुक सबैमा आग्रह गर्नुभयो ।