६ स्थानको नतिजा आउन बाँकी हुँदा काँग्रेस अगाडी

वीरगन्ज महानगरको मतगणना स्थगित

काठमाडौं,असोज,९-

गत सोमबार निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमध्ये अब ६ स्थानको मात्रै नतिजा आउन बाँकी छ ।

मतगणना भैरहेका सातवटा स्थानीय तहमध्ये नेपाली काग्रेस, नेकपा एमाले र संघीय समाजवादी फोरमले समान २-२ तहमा अग्रता लिएका छन् । तेस्रो चरणमा चुनाव भएको एउटा मात्र महानगरपालिका वीरगंजमा फोरम नेपालका विजय सरावगीको अग्रता कायमै छ । यस्तै सप्तरीको राजविराज नगरपालिकामा पनि फोरम नेपालको अग्रता छ ।

उता,बाराको कलैया उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ भने बाराकै कोल्हवी नगरपालिकामा पनि एमालेको अग्रता छ । धनुषाको सवैला नगरपालिका र बाराको बारागढी गाउँपालिकामा कांग्रेसको अग्रता छ ।

पछिल्लो मतपरिणाम अनुसार १ सय ३० तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस ३७, संघीय समाजवादी फोरम २५ र राजपा २४ स्थानमा विजयी भएको छ । यस्तै माओवादीले २१, एमालेले १७, लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले १ सिट जितेका छन् ।

वीरगन्ज महानगरको मतगणना स्थगित
प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मतगणना स्थगित भएको छ । वडा नम्बर १ को मतगणनाका क्रममा त्रुटि भएको भन्दै मतगण्नामा बसेका प्रतिनिधिहरुबीच विवाद भएपछि गणना नै स्थगित गरिएको हो ।

मतगणनाका क्रममा त्रुटि भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिहरुले पुनः मतगणना गर्न माग गरेका छन् तर अन्य दलका प्रतिनिधिले नमानेपछि मतगणना स्थगित गरिएको हो ।

कांग्रेसका प्रतिनिधिले मतगणना बहिस्कार गरेपछि अन्य दलका उम्मेदवार तथा प्रतिनिधिहरुले मतगणनास्थल बाहिर मतगणना सुचारु गर्नुपर्ने माग गर्दै नाराबाजी गएका छन् । वीरगन्जमा संघीय समाजवादी फोरम र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले अग्रता लिएका छन् ।नेपालवाणीबाट