सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल शिवपुरी मावि ७१ औं वर्षमा

काठमाडौं,असोज,१०-

सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय ७१ औं वर्षमा प्रवेश गरेको छ । शुक्रवार भव्य कार्यक्रम गरी विद्यालयले आफ्नो ७१ औं वार्षिकोत्सव मनाएको हो ।पछिल्लो दिनमा शैक्षिक र भौतिक फड्को मार्दै आएको यस सामुदायिक विद्यालयको ७१ औं वार्षिकोत्सव शुक्रवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।

यस अघि विद्यालयले उक्त अवसरमा साताव्यापी सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरेको थियो ।वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सबै सामुदायिक विद्यालयहरुलाई प्राविधिक शिक्षालयहरुमा रुपान्तर गर्नुपर्ने बताए।अब सामुदायिक विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरुले कम्तिमा केहि न केहि शीप, केही श्रम सम्बन्धी ज्ञान र कुनैनकुनै रोजगारीसँग सम्बन्धीत ज्ञान लिएकै हुनुपर्ने व्यवस्था गर्ने सरकारले तयारी गरिरहेको पोखरेलले बताए ।

अब सामुदायिक विद्यालयहरु राष्ट्रिय आवश्यकता पुरा गर्ने दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले समृद्ध नेपालको सपना सामुदायिक विद्यालयको सवलीकरणबाट मात्रै सम्भव भएको बताए ।मुलुकभर सामुदायिक विद्यालयहरुको स्थिति त्यति सुधारात्मक हुन नसकिरहेको अवस्थामा शिवपुरी जस्ता केही उम्दा विद्यालयहरुले आफ्नो मिहिनेतले प्रगति गरेर देखाएका उनको भनाइ थियो ।

आफू निर्वार्चित क्षेत्रकै विद्यालय भएकाले पनि शिवपुरीको हरेक आवश्यकता पुरा गर्न आफूले सक्दो पहल गर्ने उनले बताए ।कार्यक्रममा शिक्षा समन्वय इकाइकाठमाडौंका प्रमुख नन्दलाल पौडेलले शिवपुरी विद्यालयले आफ्नै मिहिनेतले अनुकरणीय सुधार गर्दै अन्य विद्यालयहरुलाई नेतृत् वगर्न सफल भएकोमा बधाइ दिए ।

शिवपुरीको कक्षा ११ को नतिजा मुलुकका कुनैपनि टप निजी विद्यालयको भन्दा कम नभएकाले नामका पछाडि नलागि यसै विद्यालयमा छोराछोरी पढाउन अभिभावकहरुसँग उनको आग्रह थियो ।अब आँगन अगाडिको विद्यालय छाडेर ७ बजे नै टाढाको स्कूल बसमा छोराछोरी चढाउन छाड्नुस्, यो विद्यालय कोही भन्दा कम छैन ।पौडेलले भने ।विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले विद्यालयले विभिन्न चुनौतिहरुका बीचपनि शैक्षिक र भौतिक सुधार गर्दै अगाडि बढिरहेको बताए ।

हाल विद्यालयमा सूचनाप्रविधियुक्त र योजनाबद्ध शिक्षण सिकाइ हुँदै आएको, हरेक कक्षामा सिसिटिभि र स्मार्टबोर्डको व्यवस्था गरिएको उनको भनाइ थियो । विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिने गरेको भन्दै यस वर्ष मात्रै ५० बढी विद्यार्थीहरु विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भइ पुरस्कृत भइसकेका जानकारी दिए ।

विद्यालयले विव्यस सदस्य एवं शिक्षकहरुलाई अन्य राम्रा विद्यालयहरुको भ्रमण गराई राम्रा अभ्यासहरु सिकेर लागु गर्ने गरेको, वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण, स्वास्थ्य, जनचेतना आदिमा समेत काम गर्दै आएको उनको भनाइ थियो ।

कक्षाकोठा र किताबमा सिमित सिकाइलाई बृहत बनाइएको, वर्षेपिच्छे शैक्षिक सामग्री प्रदर्शनीको आयोजना गरी विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको प्रयास गरिँदै आइएको उनको भनाइ थियो ।विद्यालयलाई भर्खरै शिक्षा दिवको अवसरमा नगरभित्रको उत्कृष्ट व्यवस्थापन र सिकाइ उपलब्धी भएको सर्वोकृष्ट विद्यालय भन्दै काठमाडौं महानगरपालिकाले शिवपुरीलाई नगद, सिल्ड, ध्वजा र प्रमाणपत्रसहित पुरसकृत गरेकोसमेत प्रअ दूरदर्शीले जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्ने एलसीसी बैंक लगायतका संस्था, उत्कृष्ट नतिजा ल्याउने विषयका शिक्षक एवं विद्यालयलाई चासो र सहयोग गर्ने अभिभावकहरुलाई सम्मानित गरिएको थियो । यस्तै साताव्यापि खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा उत्कष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।कार्यक्रममा प्रदेशसभा सदस्य दिपक केसी, विभिन्न छिमेकी विद्यालयका प्रअहरुको बाक्लो उपस्थिति रहेको थियो ।