एमाले र माओवादी केन्द्रबीचको बैठक निष्कर्षविहीन, बैशाख ९ मा पार्टी एकता नहुने संकेत

 

काठमाडौं, बैशाख ४-

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई पार्टी एकीकरणका लागि अहिलेसम्म नमिलेका विषय टुंग्याउन छलफल भएपनि सहमति बन्न नसकेको हो ।

तत्काललाई अब वैशाख ९ गते दुई पार्टीबीच एकता घोषणा नहुने भएको नेताहरुले बताएका छन् । दुई पार्टीबीच नमिलेका विवादित विषयमा सहमति गर्ने जिम्मा दुबै पार्टीका अध्यक्षलाई दिइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेता वामदेव गौतम तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी थिए ।

एकताका लागि अधिकांश विषय कार्यदलले टुंग्याएपनि केही विषयमा भने अझै सहमति बन्न नसकेको हो ।चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिको संख्यामा हिस्सेदारी विषयमा कुरा मिलेको छैन ।

कार्यदलले सहमति गर्न नसकेपछि एकता संयोजन समितिबाटै टुंगो लगाउन नेताहरुले बैठक गरेका हुन् ।एमालेले एकीकृत पार्टीको चुनाव चिह्न सूर्य राख्नुपर्ने अडान राखेको छ भने माओवादी केन्द्रले त्यसलाई स्वीकारेको छैन ।

त्यस्तै एकीकृत पार्टीको बन्ने २९९ सदस्यीय कार्यसमितिमा माओवादी केन्द्रले बराबरीको हिस्सेदारी खोजेको छ ।कार्यदलले २९९ सदस्यीय कार्यसमिति बनाउने सहमति गरे पनि कुन दलको कति जना रहने टुंग्याएको छैन ।

त्यसैगरी एकीकृत पार्टीको विधान र राजनीतिक दस्तावेजमा जनयुद्ध शब्द ब्याख्यासहित राख्नुपर्ने अडान माओवादी केन्द्रले गर्दै आएको छ ।अहिले बसिरहेको एकता संयोजन समितिको बैठकले सबै विषयमा छलफल गरी एकता प्रक्रिया टुंगो लगाउने तयारी गरेको छ ।ईमेज खबरबाट