सुन तस्करी प्रकरण : मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्म कैदको सजाय

सुन तस्करी प्रकरण : मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्म कैदको सजायकाठमाण्डौं,असोज,१९-३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएर थुनामा रहेका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ। 

मोरङ अदालतका न्यायाधीश भरत लम्सालसहितको इजलासले सुन तस्करीमा प्रयोग गरिएका भरिया सनम शाक्यको हत्या प्रकरणमा ज्यान मुद्दा अन्तर्गत ८ जनालाई दोषी ठहर गरेको हो। 

जसमध्ये गोरेसहित ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष तथा अर्का एकजनालाई ६ महिना कैद सजाय भएको अदालतका श्रेस्तेदार टीकेन्द्र वीरजंग राणाले बताउनुभो। 

जन्मकैदको सजाय सुनाइएकाहरुमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन्।त्यस्तै तीन वर्षको आंशिक सजाय पाउनेमा राजन कुमार राई छन्। माधव भन्ने मदन प्रसाद घिमिरेलाई ६ महिना सजाय तोकिएको छ। 
 
अदालतले तस्करी प्रकरणमा मुछिएका दुईजनाबाहेक बहालवाला र अवकाश प्राप्त प्रहरी अधिकृतहरूलाई भने सफाइ दिने फैसला सुनाएको छ।प्रतिवादी ७३ जनामध्ये फरार रहेका २१ जनाको हकमा भने अदालतले मुल्तबीमा राख्ने निर्णय लिएको छ। 

यो प्रकरणमा नेपाल प्रहरीका डीआइजी लोहनीसहितले सफाइ पाएका हुन्। अनुसन्धानमा लापरबाही गरेको भन्दै मुद्दा चलाइएका डीआइजी लोहनीसहित प्रहरी अधिकृतले सफाइ पाएका हुन्। 

यो प्रकरणमा तस्करीमा जोडिएकाहरुसँग साँठगाँठ गरेको अभियोगमा मुद्दा चलाइएका डीएसपी सञ्जयबहादुर राउत र एसएसपी श्याम खत्रीका हकमा पुरानै निर्णय सदर भएको छ। 

थुनामै रहेका उनीहरुको हकमा जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालसहितको इजलासले पुरानै निर्णय सदर गरेको हो। 

सुन तस्करी प्रकरणमा सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले अपराध महाशाखाका तत्कालीन प्रमुख दिवेश लोहनी, तत्कालीन डीएसपी प्रजीत केसी, सई बालकृष्ण सञ्जेल, त्रिभुवन विमानस्थल प्रहरी कार्यालयका एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, एयरपोर्टमै कार्यरत पूर्वडीआइजी गोविन्द निरौला र सञ्जयबहादुर राउतविरुद्ध मुद्दा चलाएको थियो। 

यी प्रहरी अधिकृतमा श्याम खत्री र सञ्जयबहादुर राउत अहिले पनि थुनामै छन्। लोहनीसहित अन्य अधिकृत धरौटीमा छुटेका थिए।