बाढी-पहिरोका कारण मत्यु हुनेको संख्या १ सय १५ पुग्यो

काठमाडौं,साउन,३१-

अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म १ सय १५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार बाढी पहिरो र डुबानमा परेर २५ घाइते भएका छन् भने ३८ जना बेपत्ता छन् । यस्तै २ हजार ८ सय ४७ घरमा पूर्ण क्षति भएको छ । ३ हजार ७ सय २७ पूर्वाधार संरचनाको क्षति भएको छ ।

बाढी पहिरो र डुबानबाट प्रभावितको खोज र उद्धार गरी राहत वितरण गर्ने कार्यलाई सरकारले तीव्रता दिएको जनाउँदै त्यस कार्यका लागि सुरक्षाकर्मीसमेत २६ हजार ७ सय भन्दा बढी जनशक्ति प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा खटिएको छ ।

नेपाली सेनाका ७ र निजी क्षेत्रका ६ वटा हेलिकप्टरसहित मोटरबोट, रबरबोट लगायतका साधन खोज, उद्धार र राहतमा प्रयोग भएको पनि गृह मन्त्रालयले जनाएको छ ।

पूर्ण रुपमा मौसममा सुधार आज
मौसमविद्हरुले आजदेखि पूर्ण रुपमा मौसममा सुधार आउने बताएका छन् । मौसमविद्हरुले अविरल वर्षा गराउने न्युन चापीय मनसुनी प्रणाली कमजोर बन्दै गएको र पूर्वी भेगबाट मौसममा क्रमश सुधार भइरहेकाले आजदेखि पूर्ण रुपमा मौसममा सुधार आउने बताएका हुन् ।

न्युन चापीय मनसुनी प्रणाली चुरे क्षेत्रबाट विस्तारै दक्षिण भेगतिर लागेकोले क्रमश सुधार हुँदै जाने मौसमविद् सुवास रिमालले बताउनुभयो । रिमालका अनुसार आंशिक बदली भई सामान्य वर्षा भएपनि अविरल वर्षा हुने सम्भावना देखिदैन ।

गत शुक्रबारदेखि परेको अविरल बर्षाले देशका विभिन्न भागमा बाढी पहिरो आउँदा जनधनको ब्यापक क्षति भएको छ ।नेपालवाणीबाट