न्याय माग्दै सवारी–साधनमा टाँसियो निर्मलाका स्टिकर

काठमाडौं,मंसिर,१७-

कन्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै सोमबार लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा स्टिकर र पोस्टर टाँसिएको छ ।

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु टाँसिएको हो ।काठमाडौंको गाेंगबुस्थित नयाँ बसपार्कमा पुगेर युवाहरुले स्वस्फूर्तरुपमा सवारी–साधनमा स्टिकर र पोस्टर टाँसेका हुन् ।

‘निर्मला पन्तका लागि न्याय’का अभियन्ता प्रितम सुवेदीले न्यायका लागि देशभरबाट आवाज उठाउन यो अभियान सुरु गरेको जानकारी दिनुभयो । सवारी–साधनका साथै टोलटोलमासमेत यो अभियान चलाएर सरकारलाई दबाब दिइने उहाँले बताउनुभयो ।

यस्ता स्टिकर र पोस्टर छपाउन, बनाउनका लागि स्वस्फूर्तरुपमा रकम जम्मा भइरहेको पनि सुवेदीले बताउनुभयो ।यसअघि, ‘नयाँ युगको सुरुआत’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर राजधानीका पोल–पोलमा राखिएको थियो ।

सोही पोस्टरको मुन्तिर ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर टाँसेर युवाहरुले यो अभियान सुरु गरेका थिए । तर, प्रहरी लगाएर ती पोस्टरहरु च्यातिएको थियो ।